सांसद विदुषी राणाले आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटले व्यावसायिक वातावरण सुधार र कर प्रणालीमा सुधार गरेको बताएकी छन्।
बुधबारको अर्थसमितिको बैठकमा उनले लामो समयदेखि कर विवाद, अस्पष्ट नियम, प्रशासनिक ढिलासुस्ती र कानुनी अनिश्चितताका कारण लगानीकर्ता निरुत्साहित हुँदै आएको उल्लेख गर्दै अहिले ल्याइएको सुधार प्याकेजले निजी क्षेत्रलाई राहत दिएको बताइन्।
यसले व्यवसाय सञ्चालनको लागत घटाउन सहयोग पुग्नेछ र निजी क्षेत्रको मनोबल बढाउने काम गरेको राणाले बताइन्।
उनले सरकारले अघि सारेका नीतिहरूले निजी क्षेत्रलाई राज्य आफ्नो विपक्षमा नभई साथमा रहेको सन्देश दिएको बताइन्।
उनका अनुसार मध्यमवर्गीय नागरिकको हातमा थप खर्चयोग्य आम्दानी रहँदा त्यो रकम शिक्षा, स्वास्थ्य तथा अन्य उपभोगका क्षेत्रमा खर्च हुने भएकाले समग्र आर्थिक गतिविधि चलायमान बन्न सहयोग पुग्छ।
स्वदेशी उद्योगको संरक्षणले उद्योग क्षेत्रमा रोजगारी सिर्जना हुने र त्यसले अप्रत्यक्ष रूपमा गरिबी निवारणमा समेत योगदान पुर्याउने उनको भनाइ थियो।
उनले बजेटको मुख्य उपलब्धि उद्योग र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापना रहेको उल्लेख गरिन्।
'विगत केही वर्षदेखि नेपाली बजारको अवस्था यस्तो थियो कि सटरहरू खुलेका थिए, तर ग्राहक थिएनन्। बैंकका भल्टमा पैसा थुप्रिएको थियो, तर ऋण लिने आँट र वातावरण कसैमा थिएन। उद्योगहरू न्यून क्षमतामा सीमित भएका थिए,' उनले भनिन्, 'यस्तो अवस्थामा यो बजेटले माग, उत्पादन, लगानी र रोजगारीलाई एउटै चक्रमा जोड्ने साहसिक प्रयास गरेको छ।'
उनले उद्योगीहरूले ब्याजदरभन्दा पनि बजार र राज्यको साथ खोज्ने बताउँदै बजेटले राज्य अब बिचौलियाभन्दा उत्पादकको पक्षमा रहेको स्पष्ट सन्देश दिएको दाबी गरिन्।
राणाका अनुसार सयौं औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइनु तथा अन्तःशुल्क खारेज गरिनु औद्योगिक विकासका लागि महत्वपूर्ण नीतिगत कदम हो।
कच्चा पदार्थको भन्सार तयारी वस्तुभन्दा एक तह कम गर्ने व्यवस्थाले उत्पादन लागत घटाउने र आयात प्रतिस्थापनको नीतिलाई व्यवहारिक रूपमा बलियो बनाउने उनको भनाइ थियो।
उनले उद्योग संरक्षणको उद्देश्य सीमित समूहलाई फाइदा पुर्याउनु नभई श्रमिकको रोजगारी जोगाउनु रहेको उल्लेख गरिन्।