पछिल्लो आर्थिक वर्षमा सरकारले आयकरबाट ३ खर्ब ८ अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा यस्तो कर २ खर्ब ९७ अर्ब रूपैयाँ मात्रै उठेको थियो।
अंकगत रूपमा आयकर केही सुधार भए पनि वृद्धि भने निकै खुम्चिएको छ। आर्थिक वर्ष २०८१/८२ मा १२ प्रतिशतले बढेको थियो। पछिल्लो वर्ष अर्थात् २०८२/८३ मा भने ३.७ प्रतिशतले मात्रै बढेको हो।
आयकर प्रत्यक्ष कर हो। सामान्यतया नाफा वा आयमा भएको वृद्धिले यस्तो कर बढ्ने गर्छ।
तर शीर्षकगत रूपमा एकलौटी फर्म (सानो व्यवसाय) र व्यक्तिगत आयकरको हिस्सामा निकै घटेको छ।
कम्पनी वा संस्थाले तिर्ने पुँजीगत लाभकरमा पनि उल्लेख्य गिरावट आएको छ। ब्याजमा लाग्ने कर लगातार ४ वर्षदेखि घटेको छ। तर, मुनाफामा लाग्ने कर, पारिश्रमिकमा लाग्ने कर लगायतमा भने सुधार देखिएको छ।
विभिन्न शीर्षकमा भएको कर संकलनको घटबढले के संकेत गरेको छ? यसको कारण के हो?
एकलौटी फर्म तथा व्यक्तिगत आयकर पछिल्लो आर्थिक वर्षमा ३१ अर्ब ७८ करोड रूपैयाँ संकलन भएको छ। आर्थिक वर्ष २०८१/८२ मा यस्तो कर ३६ अर्ब ३१ करोड रूपैयाँ संकलन भएको थियो। यस हिसाबले यस्तो कर १२ प्रतिशतले घटेको हो।
यसले एकल लगानीका फर्मको आम्दानी निकै घटेको वा नाफा कम देखाइएको संकेत गर्छ। विशेषतः साना व्यवसायको कारोबार कमजोर हुनु यसको मुख्य संकेत देखिएको हो। त्यस्तै व्यक्तिगत आम्दानीमा पनि कमी आएको संकेत यसले गर्छ।
मुख्यतया यति धेरै यस्तो कर घट्नुमा जेनजी आन्दोलनका कारण साना तथा मझौला व्यवसायीहरूको कारोबारमा संकुचन आएको बुझाइ कर अधिकारीहरूको छ।
पारिश्रमिक करमा सुधार भएको छ। पारिश्रमिक कर ११ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा ३४ अर्ब ५५ करोड रूपैयाँ संकलन भएको थियो। पछिल्लो वर्ष ३८ अर्ब ५५ करोड रूपैयाँ उठेको छ।
यसले विशेषतः वार्षिक ५ लाख रूपैयाँभन्दा बढी पारिश्रमिक आम्दानी गर्नेको संख्या तथा तलब बढेको संकेत गर्छ। तर कर अधिकारीहरू वास्तविक पारिश्रमिक आय बढ्नुभन्दा पनि प्रशासनिक सुधारका कारण यस्तो कर बढी बढेको तर्क गर्छन्। गत वर्ष डिजिटल प्रविधिमार्फत कर प्रशासन र कर पालना प्रणालीलाई थप प्रभावकारी बनाइएको, पारिश्रमिकबाट स्रोतमै कर कट्टी गर्ने प्रणालीलाई व्यवस्थित गरिएको प्रभाव कर सुधारमा देखिएको कर अधिकारीहरूको भनाइ छ।
पुँजीगत लाभकर स्थिरसरह देखिएको छ। यो सेयर, जग्गा वा अन्य सम्पत्ति कारोबारमा लाग्ने कर हो। आर्थिक वर्ष २०८१/८२ मा ३२ अर्ब ९० करोड रूपैयाँ यस्तो कर उठेको थियो। पछिल्लो वर्ष ३३ अर्ब ४४ करोड रूपैयाँ पुगेको छ।
आकस्मिक लाभकर ५ प्रतिशतले बढेको छ। यस्तो कर २० करोडबाट २१ करोड ७७ लाख पुगेको हो। चिट्ठा, उपहार वा विभिन्न पुरस्कारजन्य गतिविधि तथा अनलाइन प्लेटफर्मबाट हुने आकस्मिक आयमा सुधार भएको वा कर प्रशासनको निगरानी बढेको संकेत यसले गर्छ।
सरकारी संस्थानको नाफामा लाग्ने कर ७ प्रतिशतले बढेको छ। यस्तो कर संकलन ८ अर्ब ५३ करोडबाट बढेर ९ अर्ब १३ करोड पुगेको हो। विशेषतः नेपाल विद्युत् प्राधिकरण लगायतका केही प्रमुख संस्थानको आम्दानी बढेको प्रभाव यस्तो करमा देखिएको छ।
पब्लिक लिमिटेड कम्पनीको नाफामा लाग्ने करमा १६ प्रतिशतको सुधार देखिएको छ। यस्ता कम्पनीले नाफामा तिर्ने कर पछिल्लो आर्थिक वर्षमा ६० अर्ब ४० करोडबाट बढाएर करिब ७० अर्ब रूपैयाँ पुर्याएका छन्। यो वर्ष समग्र आयकरमा पब्लिक कम्पनीको नाफा करको हिस्सा मात्रै १९ प्रतिशत पुगेको छ।
यो सूचीकृत कम्पनीहरूको नाफा बढेको संकेत हो। बैंक, बीमा, उत्पादन वा अन्य ठूला कम्पनीको नतिजा सुधारिएको देखिन्छ।
प्राइभेट लिमिटेड कम्पनीको नाफामा लाग्ने करमा पनि ७ प्रतिशतको सुधार देखिएको छ। प्राइभेट कम्पनीको नाफाबाट आर्थिक वर्ष २०८१/८२ मा १५ अर्ब ५९ करोड कर उठेको थियो। पछिल्लो आर्थिक वर्षमा भने बढेर १८ अर्ब ४२ करोड पुगेको हो। यसले पनि उत्पादनमूलक तथा सेवामूलक प्राइभेट कम्पनीहरूको आर्थिक गतिविधिमा क्रमिक सुधार र कर सहभागितामा वृद्धि भएको संकेत गरेको छ।
गैरसरकारी संस्था र सहकारी संस्थाको आयमा पनि सुधार देखिएको छ। यस्ता कम्पनीको नाफा कर १५ अर्ब ५९ करोडबाट बढेर १८ अर्ब ४३ करोड पुगेको हो।
विशेषतः ठूला कम्पनीहरूको नाफा कर यति धेरै बढेर पनि समग्र आयकरमा सुधार देखिएको छैन। निकायगत पुँजीगत लाभकर र ब्याजमा लाग्ने करमा आएको कमीले समग्र आयकरको बढोत्तरी रोकेको देखिएको छ।
निकायको पुँजीगत लाभकर ४८ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०८१/८२ मा यस्ता कम्पनीको लाभकर ७ अर्ब ३० करोड उठेको थियो। पछिल्लो वर्ष भने ३ अर्ब ७६ करोडमा सीमित भएको छ।
यो कम्पनी तथा संस्थाले सम्पत्ति वा लगानी बिक्री कम गरेको संकेत हो। ठूला लगानी कारोबार घट्दाको प्रभाव यहाँ देखिन्छ।
निकायको आकस्मिक लाभकरमा पनि ७ प्रतिशतको कमी छ। यसले गैरव्यावसायिक आम्दानीका स्रोतमा कमी आएको संकेत गरेको छ।
सम्पत्ति, बहाल तथा पट्टा आयकर ३ प्रतिशतले कमी आएको छ। यो घरभाडा वा लिजबाट हुने आय केही घटेको वा कर संकलन कमजोर भएको संकेत हो।
व्यक्ति वा संस्थाले रकम ब्याजमा राखेर हुने आम्दानीबाट तिर्ने कर भने लगातार गिरावट आएको छ। यस्तो आयबाट लाग्ने कर आर्थिक वर्ष २०८१/८२ मा ३० अर्ब २५ करोड थियो। तर पछिल्लो आर्थिक वर्षमा २६ अर्ब १० करोडमा सीमित भएको छ। निक्षेपको ब्याजदर घटेको प्रभाव यहाँ देखिएको हो। गत आर्थिक वर्षमा मुद्दती निक्षेपको ब्याजदर ३.७५ प्रतिशतसम्म घटेको थियो। पछिल्लो ४ वर्षदेखि यस्तो कर निरन्तर घटेको छ।
कम्पनीहरूले अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने दर र परिमाण बढेको देखिएको छ। किनकि नगद लाभांश आयबाट तिर्नुपर्ने करमा निकै सुधार आएको छ। आर्थिक वर्ष २०८१/८२ मा यस्तो कर ६ अर्ब ७८ करोड संकलन भएको थियो। तर पछिल्लो आर्थिक वर्षमा ८ अर्ब ११ करोड संकलन भएको छ। २० प्रतिशतले यस्तो कर बढेको हो।
पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करमा सामान्य सुधार देखिएको छ। यस्तो कर ८ अर्ब ८७ करोडबाट बढेर ९ अर्ब २० करोड पुगेको हो।
पछिल्लो आर्थिक वर्षमा कम्पनीहरूको नाफा, तलब र लाभांशमा सुधार भएको देखिन्छ। तर साना व्यवसायीको आय (एकलौटी फर्म) र पारिश्रमिक बाहेकको व्यक्तिगत आय, ब्याज आम्दानी र निकायको पुँजीगत लाभबाट उठ्ने कर निकै घटेको छ।