आर्थिक वर्ष २०८१-८२ मा ६४ अर्ब बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएकोमा १२ अर्ब एक करोड रूपैयाँ मात्रै भित्रिएको छ।
राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले यो अवधिमा भित्रिएको खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ३० करोड मात्रै रहेको देखाएको छ।
विभिन्न समयमा भएको वैदेशिक लगानी फिर्ता भएको हो। यस्तो फिर्ता भएको लगानी ४ अर्ब ७० करोड छ।
नेपालमा स्वीकृत लगानीको तुलनामा भित्रिने रकम भने निकै कम छ।
२९ वर्षमा (१९९५-९६ यता) ५ खर्ब ७७ अर्ब रूपैयाँको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएपनि खुद प्रत्यक्ष वैदेशिक लगानी मात्रै एक खर्ब ७० अर्ब ८६ लाख रूपैयाँ बराबर छ।
यो स्वीकृत भएको रकमको २९.६ प्रतिशत मात्रै हो।
नेपालमा सबैभन्दा धेरै लगानी भारतबाट भित्रिएको छ।
आर्थिक वर्ष २०८१-८२ सम्म भारतको एक खर्ब ११ अर्ब बराबरको लगानी छ।
विभिन्न संस्थामा चुक्तापुँजीको रूपमा ५७ अर्ब ७९ करोड, संस्थाहरूको सञ्चितिमा ४९ अर्ब र विभिन्न क्षेत्रले लिएको कर्जा रकम तीन अर्ब ९३ करोड छ।
भारतपछि चीनबाट भएको लगानी दोस्रो धेरै हो। २०८१-८२ सम्म चीनको ३१ अर्ब ४३ करोड बराबर लगानी छ।
विभिन्न संस्थामा चुक्ता पुँजीको रूपमा ३० अर्ब ५९ करोड र विभिन्न क्षेत्रले लिएको कर्जा रकम १० अर्ब ८२ करोड छ।
चीनको लगानी रहेका संस्थाहरूको सञ्चिति भने ९ अर्ब ९८ करोडले ऋणात्मक छ।
भारतबाट उत्पादनमूलक क्षेत्रमा धेरै लगानी भएको छ। चीनबाट भएको लगानी विद्युत, ग्यास लगायतका क्षेत्रमा धेरै छ।
नेपालमा रहेको विदेशी लगानीको आधारमा ६० मुलुकमा भारत र चीनपछि आयरल्याण्ड, अष्ट्रेलिया र सिंगापुर अग्रस्थानमा छन्।
विदेशी लगानी रहेका संस्थाहरूमा ७५ अर्ब रूपैयाँ बराबरको वैदेशिक ऋण समेत रहेको छ। धेरै जसो ऋण जलविद्युत कम्पनीहरूले लिएको हो।
यसरी वैदेशिक लगानी रहेका संस्थाहरूको बिक्री र सेयरमा प्रतिफल (रिर्टन अन अर्निङ) घटे पनि संस्थाहरूको उत्पादन क्षमता अनुसार उत्पादनमा भने सुधार भएको छ।
यस्तो लगानी भएका संस्थाबाट भएको उत्पादन बिक्री तीन अर्ब २० करोडले घटेर ४ खर्ब ७० अर्ब ८० करोडमा सीमित भएको छ। यसअघि ४ खर्ब ७४ अर्ब रूपैयाँ छ।
यी संस्थाहरूको सेयरमा प्रतिफल ११.४ प्रतिशतबाट घटेर ११.२ प्रतिशत छ। र, उत्पादन क्षमता ४७.५ प्रतिशतबाट बढेर ५९.४ प्रतिशत पुगेको छ।
वैदेशिक लगानी रहेका संस्थाहरूबाट ३३ अर्ब लाभांशको रूपमा बाहिरिएको छ।
यसअघिको वर्ष विदेशी लगानीकर्ताहरूले १२ अर्ब ५७ करोड लाभांश लगेका थिए।
यी लगानीकर्ताले उत्पादनमूलक क्षेत्रबाट सबैभन्दा धेरै लाभांश पाएका हुन्।
लगानीकर्ताहरूले यो क्षेत्रबाट मात्रै २८ अर्ब रूपैयाँ लाभांश पाएका थिए।
राष्ट्र बैंकले प्रतिवेदनमा लागि सर्वेक्षणमा लिएको विदेशी लगानी रहेका ९३१ संस्थामा २६२ वटाले यसमा भाग लिएको बताइएको छ।