नेदरल्यान्ड्सले विश्वव्यापी भूराजनीतिक तनावबीच आफ्नो अर्बौं डलरबराबरको सुन सञ्चिति अमेरिकाको न्यूयोर्क र क्यानडाको ओटावाबाट बेलायतमा स्थानान्तरण गरेको छ।
बुधबार डच केन्द्रीय बैंक (डिएनबी)ले गम्भीर संकटको तयारीको क्रममा सुन सञ्चिति स्थानान्तरण गरिएको जनाएको छ।
डिएनबीले कुन–कुन संकटका लागि तयारी गरिएको हो भन्ने स्पष्ट पारेको छैन। अहिले विश्वका विभिन्न क्षेत्रमा चलेको विवादलाई यसको कारण मानिएको छ।
अहिले अमेरिका र क्यानडाबीच चर्को व्यापार तथा भन्सार शुल्क विवाद चलिरहेको छ भने वासिङ्टनले इरानमा युद्ध सञ्चालन गरिरहेको छ।
पछिल्ला महिनाहरूमा भेनेजुएला तथा क्युबाको आसपास पनि सैन्य गतिविधि बढाएको छ।
यसैगरी, फेब्रुअरीमा अमेरिकाले इरानविरुद्ध युद्ध सुरू गरेपछि युरोप र अमेरिकाबीचको तनाव पनि बढेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धमा आफ्ना युरोपेली सहयोगीहरूले सहभागी हुन अनिच्छा देखाएकोप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन्।
डिएनबीका अध्यक्ष ओलाफ स्लेइपेनले एक विज्ञप्तिमा भनेका छन्, 'यस स्थानान्तरणबाट हामीले आफ्नो सुन सञ्चितिको कारोबारयोग्यता सुधार गरेका छौं। सञ्चित सुनको यस्तो प्रयोग गर्नुपर्ने अवस्था कहिल्यै नआओस् भन्ने हाम्रो अपेक्षा छ। तर, हामीले आफ्नो संकट सामना गर्ने क्षमता र तयारीलाई बलियो बनाउन आवश्यक रहेकोले यस्तो गरेका हौं।'
नेदरल्यान्ड्ससँग कति सुन सञ्चिति छ? अमेरिकाका लागि यसको अर्थ के हो?
नेदरल्यान्ड्ससँग ६१२.४ टन सुन सञ्चिति छ, जसको मूल्य करिब ८३.८ अर्ब डलर (८५ खर्ब रूपैयाँ बढी) छ। सम्भावित संकटका बेला वित्तीय प्रणाली नै अवरुद्ध हुन सक्ने अवस्थामा यो सुन सञ्चितिले सुरक्षा प्रदान गर्न सक्छ।
जोखिम विविधीकरणको सामान्य रणनीतिअनुसार मुलुकहरूले आफ्नो सुन सञ्चिति विभिन्न स्थानमा राख्ने गर्छन्।
कुनै एक स्थानमा समस्या भए अन्यमा रहेको प्रयोग गर्न सकियोस भन्ने उदेश्यले यस्तो गरिएको हुन्छ। डिएनबीले पनि आफ्नो सुन सञ्चिति विभिन्न स्थानमा राख्दै आएको थियो।
नेदरल्यान्ड्सको जाइस्टस्थित आफ्नै नगद केन्द्रका साथै बेलायत, अमेरिका र क्यानडाका केन्द्रीय बैंकहरूमा राख्ने गरेको छ।
यसअघि नेदरल्यान्ड्सको कुल सुन सञ्चितिमध्ये ३०.८ प्रतिशत जाइस्टमा, १८.१ प्रतिशत लन्डनमा, ३१.३ प्रतिशत न्यूयोर्कमा र १९.७ प्रतिशत ओटावामा थियो।
उत्तर अमेरिकाबाट बेलायततर्फ सुन स्थानान्तरण गरेपछि यसको अहिले जाइस्टमा ३०.८ प्रतिशत, लन्डनमा ३२.१ प्रतिशत, न्यूयोर्कमा १८.५ प्रतिशत र ओटावामा १८.५ प्रतिशत भएको छ।
स्थानान्तरण गरिएको सुनको मूल्य सन् २०२५ को अन्त्यमा करिब ११.७३ अर्ब डलर थियो।
सुन दुई तरिकाबाट स्थानान्तरण गरिएको थियो। एउटा स्थानमा सुन बिक्री गरेर अर्को स्थानमा त्यति नै सुन खरिद गरिएको थियो।
अर्को तरिका भनेको सुनका बारहरूलाई भौतिक रूपमा एक स्थानबाट अर्को स्थानमा सारिएको थियो।
डिएनबीका अनुसार बैंकले पहिले न्यूयोर्कमा करिब ५९ टन सुन अर्थात् करिब ८.३ अर्ब डलर बराबरको सुन बिक्री गर्यो र त्यसपछि लन्डनमा सुन खरिद गर्यो।
त्यसैगरी, २७ टनभन्दा बढी सुन (करिब ३.८४ अर्ब डलर) अमेरिकाबाट र क्यानडाबाट भौतिक रूपमा जाइस्टमा ल्याइएको थियो। त्यति नै परिमाणको अन्तर्राष्ट्रिय बजारको मापदण्ड पूरा गर्ने सुन जाइस्टबाट लन्डन पठाइएको थियो।
यसरी सुनका बारहरूलाई फेरि पगाल्नुपर्ने आवश्यकता परेन।
समग्रमा, सन् २०२५ को डिसेम्बरको मूल्यांकनअनुसार न्यूयोर्कबाट करिब १०.७ अर्ब डलरबराबरको सुन र ओटावाबाट १ अर्ब डलरभन्दा केही बढी मूल्यको सुन स्थानान्तरण गरिएको छ।
डिएनबीले भनेको छ, 'हालैको स्थानान्तरणपछि डच सुन सञ्चिति भौगोलिक आधारमा सन्तुलित रूपमा वितरण भएको छ। अब अमेरिका र क्यानडा दुवैस्थानमा समान रूपमा १८.५ प्रतिशत सुन रहेको छ।'
नेदरल्यान्ड्सले अमेरिकाबाट सुन किन सारिरहेको होला?
मंगलबार जारी गरेको विज्ञप्तिमा डिएनबीले आफ्नो सुनलाई सहज रूपमा कारोबार हुने अवस्थामा राख्न खोजिएको जनाएको थियो।
साथै, सुन राख्न लन्डनलाई सुरक्षित स्थानका रूपमा हेरिएको पनि उल्लेख गरेको थियो।
डिएनबीले न्यूयोर्क र ओटावामा राखिएको सुन समस्या परेको अवस्थामा 'छिटो र प्रत्यक्ष रूपमा प्रयोग गर्न नसकिने' बताएको छ।
डिएनबीले आफूले उल्लेख गरेको 'प्रणालीगत जोखिम' भन्नाले के–कस्तो जोखिमलाई जनाइएको हो भन्ने स्पष्ट पारेको छैन।
तर, नेदरल्यान्ड्सले क्यानडाको तुलनामा अमेरिकाबाट निकै ठूलो परिमाणमा सुन हटाएको छ। अमेरिका र युरोपबीचको सम्बन्धमा आउन सक्ने अस्थिरतालगायत कारण हुन सक्ने विश्लेषकहरूले अनुमान गरेका छन्।
मध्यपूर्व मामिलासम्बन्धी ग्लोबल अफेयर्स परिषद्का गैरआवासीय वरिष्ठ अनुसन्धानकर्ता फ्रेडरिक स्नाइडर मुलुकहरूले सुन सञ्चितिमाथि आफ्नो भौतिक नियन्त्रण कायम गर्ने प्रयासमा यस्तो कदम चालेका हुन्।
जर्मनी, फ्रान्स र इटालीलगायत अन्य मुलुकहरूले एक दशकभन्दा लामो समयदेखि आफ्नो सुन फिर्ता ल्याउने वा त्यस विषयमा छलफल गर्ने गरिरहेका थिए।
ट्रम्प दोस्रोपटक अमेरिकी राष्ट्रपति बनेपछि यो चाहना थप बलियो भएको उनको बुझाइ छ।
ट्रम्पको 'सहयोगीहरूप्रतिको बढ्दो आक्रामक र अप्रत्याशित व्यवहार' का साथै अमेरिकी डलर, अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध र अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई बढ्दो रूपमा रणनीतिक हतियारका रूपमा प्रयोग गर्ने प्रवृत्तिले धेरै मुलुकलाई चिन्तित बनाएको उनी बताउँछन्।
विशेष गरी निम्न विषयहरू यसका कारण हुन सक्छन्:
व्यापार युद्ध
पहिलो, सन् २०२५ देखि क्यानडा र अमेरिकाबीच व्यापार युद्ध चलिरहेको छ। ट्रम्प प्रशासनले गत वर्ष क्यानडाका स्टिल, आल्मुनियम र सवारीसाधनजस्ता प्रमुख क्षेत्रमा भन्सार शुल्क लगाएको थियो।
त्यसपछि यस वर्ष अगस्टमा दुई देशबीचको व्यापार वार्ता सहमतिमा पुग्न नसकेपछि वासिङ्टनले २० अर्ब डलर मूल्यका क्यानडेली सामानमा थप ५० प्रतिशत भन्सार शुल्क लगायो।
जवाफमा ओटावाले २० अर्ब डलर मूल्यका ७०० भन्दा बढी अमेरिकी उत्पादनमा प्रतिशोधात्मक भन्सार शुल्क लगाउने घोषणा गर्यो।
सेप्टेम्बर ८ देखि लागू हुने यी शुल्क दर १५, देखि ५० प्रतिशत छ।
सैन्य युद्ध
दोस्रो, ट्रम्प प्रशासनले दोस्रो कार्यकालमा विभिन्न व्यापार युद्धसँगै अन्य सैन्य गतिविधि पनि अघि बढाएको छ।
अमेरिका–इजरायलको इरानविरुद्धको युद्ध जारी छ र यसको कूटनीतिक वा सैन्य अन्त्यको स्पष्ट संकेत देखिएको छैन।
वासिङ्टनले क्युबाको आसपास पनि सैन्य गतिविधि बढाएको छ।
जनवरीमा अमेरिकी सेनाले भेनेजुएलाका तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई एउटा तीव्र सैन्य कारबाहीमार्फत नियन्त्रणमा लिएर अमेरिकामा पुर्याएको थियो, जहाँ उनी लागुऔषध र हतियारसम्बन्धी आरोपमा मुद्दा खेपिरहेका छन्।
त्यसयता अमेरिकाले भेनेजुएलाको ठूलो हिस्साको तेल उद्योगमाथि नियन्त्रण लिन विभिन्न सम्झौता गरेको छ।
सम्बन्धमा चिसोपन
तेस्रो, अमेरिकी व्यापार युद्ध र इरानविरुद्धको युद्धमा युरोपेली मुलुकहरू सहभागी हुन अस्वीकार गरेपछि युरोपेली देश र ट्रम्प प्रशासनबीच कूटनीतिक सम्बन्ध थप तनावपूर्ण बनेका छन्।
गत वर्ष ट्रम्पले ग्रिनल्यान्डमाथि नियन्त्रण कायम गर्ने आफ्नो आकांक्षा दोहोर्याएपछि अमेरिका र युरोपबीच तनाव बढेको थियो।
आफ्नो बाटोमा अवरोध गर्ने युरोपेली मुलुकहरूलाई उनले थप व्यापार शुल्क लगाउने धम्कीसमेत दिएका थिए।
यस वर्ष अप्रिलमा ट्रम्पले युरोपेली मुलुकहरूमाथि आक्रोश व्यक्त गर्दै खाडीबाट तेल आपूर्ति लिन नसकेका मुलुकहरूलाई 'आफ्नो तेल आफैं खोज्न' भनेका थिए।
स्ट्रेट अफ हर्मुज बन्द भएपछि युद्धले तेल तथा ग्यासको आपूर्ति प्रभावित हुँदा विश्व ऊर्जा बजारमा अव्यवस्था उत्पन्न भएको थियो।
फ्रान्सले इजरायली विमानलाई आफ्नो हवाई क्षेत्र हुँदै हतियार लैजान रोकेको र इटालीले अमेरिकी बम वर्ष गराउने विमानलाई सिसिलीमा अवतरण गर्न अनुमति नदिएको समाचारपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको थियो।
सम्पत्ति रोक्का गर्ने नयाँ अभ्यास
चौथो, रुसले युक्रेनमा पूर्ण रूपमा आक्रमण सुरू गरेको केही दिनपछि सन् २०२२ को फेब्रुअरीमा युरोपेली संघले रुसको केन्द्रीय बैंकको करिब ३ खर्ब डलरबराबरको सम्पत्ति रोक्का गरेको थियो।
धेरैले यसलाई नयाँ अभ्यासका रूपमा हेरे। रोक्का गरिएको सम्पत्तिको परिमाण रुसको यस्तो कुल सम्पत्तिको करिब आधा बराबर थियो।
अन्य मुलुकका सम्पत्ति राख्ने केन्द्रीय बैंकसँग त्यस्तो सम्पत्ति रोक्का गर्ने अधिकार भएपनि उनीहरूले विरलै यस्तो अभ्यास गरेका थिए।
जी–२० को एउटा ठूलो अर्थतन्त्रलाई लक्षित गरेर युरोपेली संघले प्रमुख आणविक तथा आर्थिक शक्तिको सञ्चितिलाई परम्परागत अन्तर्राष्ट्रिय वित्तीय मान्यताअनुसार बाहिर राखिने प्रचलनबाट अलग कदम चालेको थियो।
सन् २०२४ मा युरोपेली संघले जी–७ मुलुकहरूको सहमतिमा रुसको रोक्का गरिएको सम्पत्तिबाट प्राप्त नाफालाई युक्रेनका लागि ५० अर्ब डलर ऋण प्याकेजमा प्रयोग गर्नेमा सहमति जनाए।
त्यसपछि डिसेम्बर २०२५ मा युरोपेली संघले रुसको यस्तो सम्पत्ति रोक्का गर्ने निर्णय अनिश्चित अवधिसम्म कायम राख्ने सहमति गर्यो।
यसअघि प्रत्येक छ महिनामा यस्तो सम्पत्ति रोक्का गर्ने निर्णय नवीकरण गर्नुपर्ने आवश्यकता हटायो।
यसले अप्रत्याशित मानिएका अन्य मुलुकका केन्द्रीय बैंकमा आफ्नो सञ्चिति राख्नु उच्च जोखिमपूर्ण हुन सक्ने निष्कर्षमा धेरै मुलुकहरू पनि पुग्न सक्ने देखिन्छ।
के अन्य मुलुकले पनि अमेरिकाबाट सुन सारेका छन्?
यस वर्ष अमेरिकाबाट आफ्नो सुन सञ्चिति स्थानान्तरण गर्ने नेदरल्यान्ड्स, पहिलो मुलुक भने होइन।
जनवरीमा फ्रान्सको केन्द्रीय बैंकले न्यूयोर्कस्थित फेडरल रिजर्भ बैंकमा राखेको १२९ टन (करिब १७ अर्ब डलरबराबरको) सुन फ्रान्समा फिर्ता ल्याएको थियो।
फ्रान्सले सन् २०२५ को जुलाईदेखि न्यूयोर्कमा यस्तो सुन राखेको थियो। फ्रान्सले प्राविधिक सुधार र राम्रो प्रतिफल प्राप्त गर्ने उद्देश्यले सुन सारेको बताएको थियो। न्यूयोर्कमा सुन बेचेर पेरिसमा सुनका बार किनेको थियो।
सन् २०१३ देखि २०१७ मा जर्मनीले न्यूयोर्कबाट ६०० टनभन्दा बढी सुन फ्र्यांकफर्टमा स्थानान्तरण गरेको थियो।
त्यसको मूल्य त्यतिबेला करिब ७७.५ अर्ब डलर बराबर रहेको जर्मनीले उल्लेख गरेको थियो। अनुवाद: अलजलजिरा