नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा भएका घटनाप्रति चिन्ता व्यक्त गरेको छ।
घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग अपिल गरेको छ।
चेम्बरले नेपाल विभिन्न धर्म, संस्कृति र समुदायबीचको सहअस्तित्वमा आधारित मुलुक भएको उल्लेख गरेको छ। सामाजिक सद्भाव र सहिष्णुता जोगाउनु सबै नागरिकको साझा जिम्मेवारी भएको बताइएको छ।
'अफवाह, भ्रामक सूचना र हिंसात्मक गतिविधिबाट टाढा रहन सबैमा अपिल गर्दछौं,' चेम्बरको विज्ञप्तिमा भनिएको छ।
सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि र समुदायका अगुवाले शान्ति र जनजीवन सामान्य बनाउन गरिरहेका प्रयासको प्रशंसा गरिएको छ। सबै पक्षलाई संवाद, पारदर्शिता, निष्पक्षता र आपसी सम्मानका आधारमा सहकार्य गर्न आग्रह गरिएको छ।
धार्मिक अगुवा, सामाजिक संघसंस्था, युवा समूह, नागरिक समाज, सञ्चारमाध्यम र निजी क्षेत्रलाई सामाजिक सद्भाव बढाउने गतिविधिमा सक्रिय हुन आग्रह गरिएको छ।
आर्थिक समृद्धि र सामाजिक सद्भाव एकअर्कासँग जोडिएको उल्लेख गरिएको छ। स्थिर वातावरणमा मात्रै व्यवसाय, उद्योग र लगानी विस्तार हुन सक्ने बताइएको छ।
प्रभावित व्यवसाय पुनः सञ्चालन, समुदायबीच सहकार्य र जनविश्वास पुनःस्थापनामा निजी क्षेत्रले साथ दिने प्रतिबद्धता जनाइएको छ।
'विभाजनभन्दा सहिष्णुता, टकरावभन्दा संवाद र मतभेदभन्दा राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्ने समय हो,' चेम्बरको विज्ञप्तिमा भनिएको छ।
सरकार, निजी क्षेत्र, नागरिक समाज र समुदायबीचको सहकार्यबाट प्रभावित क्षेत्रमा शान्ति पुनःस्थापित हुने विश्वास पनि व्यक्त गरिएको छ।