बाढीपहिरोका कारण बेनी–जोमसोम–कोरोला सडक अवरूद्ध भएपछि नेपाल–चीन व्यापारको मुख्य नाका कोरोला क्षेत्रमा सयौं कन्टेनर थन्किएका छन्।
कन्टेनर व्यवसायी सुजन बस्नेतका अनुसार करिब डेढ सय कन्टेनर चीनमै रोकिएका छन्। मुस्ताङको कोरोला क्षेत्रमा मात्रै करिब ५०० वटा कन्टेनरको लश्कर छ। बीचबीचमा पहिरोका कारण थप करिब २०० वटा कन्टेनर अड्किएका छन्।
'बेनी–जोमसोम–कोरोला सडकभरि कन्टेनर छन्,' उनले भने।
हार्डवेयर व्यवसायी सुजन आफै २० दिनदेखि कोरोला नाकामा अड्किएका छन्। असोज ९ देखि ११ गतेसम्म परेको वर्षाले मुस्ताङ जोड्ने एक मात्र सडक बेनी–जोमसोम–कोरोला सडक अवरूद्ध भएपछि उनी उतै अड्किएका हुन्।
'म कामको सिलसिलामा कोरोला आएको आज २० दिन भयो। बाटो बन्द भएकाले फर्किन पाएको छैन,' उनले भने।
भोटेकोशी–त्रिशूली बाढीअघि उनी चीनबाट रसुवा नाका भएर हार्डवेयरका सामान काठमाडौं लैजान्थे। टिमुरेमा कोठा भाडा लिएर कार्यालय चलाएका थिए। बाढीमा उनी र उनका केही कर्मचारीले भागेर ज्यान जोगाए। उनीहरूको कार्यालय भएको घर र घरधनीलाई भने बाढीले बगायो। सुजनका ४ वटा कन्टेनर र तिनका चालक पनि बाढीमा परे।
अहिले सुजनसँग एउटा मात्र कन्टेनर छ। असोज ९ गते कोरोला जाने तयारीमा रहेको उक्त कन्टेनर सोही दिनदेखि परेको पानीले काठमाडौंमै रोकिएको छ।
'बाढीपछि बल्लतल्ल व्यवसाय अगाडि बढाउन खोजिरहेका थियौं, कोरोला जोड्ने सडकको पहिरोले फेरि रोकियो,' सुजनले भने।
नेपाल–चीन जोड्ने अरू दुई नाका तातोपानी र रसुवागढी बन्द भएपछि कोरोलाबाट नेपाल–चीन व्यापार हुँदै आएको थियो। असोज ९ गतेदेखिको अविरल वर्षाका कारण कोरोला जोड्ने सडकसमेत अवरूद्ध भएपछि नेपाल–चीन व्यापार प्रभावित भएको हो।
मुस्ताङमा बाढी र पहिरोले ठाउँठाउँमा बिजुलीका पोल ढालेको छ। इन्टरनेट र टेलिफोन लाइनसमेत गएको चार दिनपछि मंगलबार मात्र पुनः सञ्चालन भएको छ।
छुसाङमाथि चैलेमा गएको पहिरो मंगलबारदेखि खुलाइए पनि तल म्याग्दी खण्ड पूरै बन्द रहेको मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अनिता शर्माले बताइन्।
'भन्सारले काम गर्न नपाउँदा कन्टेनरले कोरोला नाका भरिएका छन्,' शर्माले भनिन्।
मुस्ताङ भन्सार कार्यालय प्रमुख विदुर चुडालका अनुसार सडक र भन्सारको काम प्रभावित हुँदा राजस्व संकलनमा पनि असर परेको छ।
रसुवागढी नाका बाढीमा बगेपछि मुस्ताङमा चहलपहल ह्वात्तै बढेको थियो। साउन १ देखि भदौ १० सम्म मुस्ताङ भन्सारमा जम्मा ५२ करोड रूपैयाँ राजस्व जम्मा भएको थियो। तर बाढीपछि असोज ९ सम्म पाँच अर्ब रूपैयाँ संकलन भएको थियो।
'मुस्ताङमा निकै चहलपहल बढेको थियो। हामीले त्यही अनुसार कर्मचारी पनि थपेका थियौं,' कार्यालय प्रमुख चुडालले भने, 'तर पहिरोले बिजुली, इन्टरनेट, टेलिफोन, बाटो सबै बन्द भयो। राजस्व संकलन हुन सकेको छैन।'
म्याग्दीका सिडिओ गणेश गैरेका अनुसार बेनी–जोमसोम सडकको ४६ ठाउँमा पहिरो गएको छ। तीमध्ये १० ठाउँको पहिरो जोखिममा छन्।
कालीगण्डकी नदीमाथि पोखरेबगरमा मोटरेबल पुलको पहुँच सडक बगाएको छ। बैसरी र राहुघाटमा ठूलो अवरोध छ। यो हटाउन अझै एक साता समय लाग्ने अनुमान छ।
'हामीले सबैतिर भएका डोजर लगाएर पहिरो पन्छाइरहेका छौं,' उनले भने, 'तैपनि एक साता लाग्छ होला।'
नेपाल–चीन जोड्ने तीनवटै नाकाबाट व्यवसाय गरेका सुजन भने अहिलेसम्म सबैभन्दा सजिलो तातोपानी नाका मान्छन्। यहाँबाट नागरिकता देखाएर एक दिनका लागि भित्र जाने पास पाउने र व्यवसायीले आफै सामान ल्याउन पाएको उनी बताउँछन्। कोरोलाबाट भने व्यवसायी कन्टेनर लिएर भित्र जान नपाएको उनको गुनासो छ।
बाढीमा सर्वस्व गुमाएका व्यवसायी अझै व्यवसायमा फर्किन सकेका छैनन्। उनीहरूले अन्य व्यवसायीलाई आफ्नो काम गरिदिन अह्राएको उनी बताउँछन्।
'सबै कन्टेनर, व्यवसाय, परिवार गुमाएका साथीहरूले अरूलाई गरिदिनू भनेर जिम्मेवारी दिएका छन्,' सुजनले भने, 'कोरोलाबाट व्यवसाय गर्न सहज हुँदै थियो, बाढी र पहिरोले यता पनि रोकिनुपर्यो।'