लगातारको बिदाले राजस्व संकलन र करदाताको सुविधा प्रभावित हुने भएपछि आन्तरिक राजस्व विभागले मातहतका कार्यालयलाई कात्तिक मसान्तको दिन कार्यालय खोल्न भनेको छ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने घोषणा गरेको थियो।
त्यसपछि कात्तिक महिनाको अन्तिम दिन सोमबारसमेत सार्वजनिक बिदा परेको छ।
तर, कात्तिक मसान्तमा राजस्व परिचालन र करदातासम्बन्धी महत्वपूर्ण काम गर्नुपर्ने भएकाले विभागले कार्यालय खुला राख्न निर्देशन दिएको हो।
विभागले मातहतका कार्यालयलाई पत्र पठाउँदै यस्तो व्यवस्था मिलाउन आग्रह गरेको छ।
विभागको राजस्व संकलन, बक्यौता तथा अन्तशुल्क व्यवस्थापन शाखाले ठूलो करदाता कार्यालय हरिहरभवन, मध्यमस्तरीय करदाता कार्यालय बबरमहल र सबै आन्तरिक राजस्व कार्यालयलाई पत्र पठाएको हो।
पत्रमा कात्तिक ३० गते सार्वजनिक बिदा घोषणा भए पनि उक्त दिन राजस्व परिचालनका हिसाबले कात्तिक महिनाको मसान्त पर्ने उल्लेख छ।
त्यस दिन गत आर्थिक वर्षको आय विवरण दाखिला गर्ने, आर्थिक ऐन २०८३ ले प्रदान गरेका छुट सुविधाको उपयोग गर्ने तथा बक्यौता फरफारक गर्ने काम गर्नुपर्ने विभागले जनाएको छ।
त्यस्तै, अन्तःशुल्कजन्य वस्तु निष्कासन गर्ने प्रयोजनका लागि करदातालाई सहजीकरण गर्नुपर्ने भएकाले राजस्व संकलन गर्ने बैंकहरूसँग समन्वय गरी कार्यालय खुला राख्न विभागले निर्देशन दिएको छ।
यसका लागि नेपाल राष्ट्र बैंकको बैंकिङ विभाग र नेपाल क्लियरिङ हाउसलाई पनि पत्रको बोधार्थ पठाइएको छ।
राष्ट्रिय भुक्तानी प्रणालीमार्फत हुने राजस्व संकलनमा सहजीकरण गर्न नेपाल क्लियरिङ हाउसलाई पत्र पठाइएको हो।
लगातार सार्वजनिक बिदा थपिँदै जाँदा सरकारी सेवा प्रवाह र राजस्व संकलन प्रभावित हुन सक्ने देखिएको छ।
साताका दुई दिन साप्ताहिक बिदासहित कात्तिक महिनामा मात्रै १९ दिन सार्वजनिक बिदा परेको छ।
यससँगै चालु वर्षमा सार्वजनिक बिदाको संख्या १०५ दिन पुगेको छ।