टर्कीमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औं सम्मेलनमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्।
सम्मेलनका क्रममा उनी करिब एक दर्जन उच्चस्तरीय कार्यक्रममा सहभागी भए।
उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए।
सात वर्षअघि स्थापना भएको 'जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन'मा नेपाललाई नयाँ सदस्यका रूपमा प्रवेश गराइएको छ। नेपाल यस गठबन्धनको १०५औं सदस्य बनेको छ।
अर्थमन्त्री वाग्लेले 'उत्थानशीलताका लागि वित्तीय स्रोतको व्यवस्था' सम्बन्धी नीतिगत अवधारणा पनि छलफलका लागि प्रस्तुत गरेका थिए।
विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान चलाइरहेकी बार्बाडोसकी प्रधानमन्त्री मिया मोट्ली र बेलायतका विदेशमन्त्री एड मिलिब्यान्डसँग उनले छलफल भएको जनाइएको छ।
विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता छ।
सम्मेलनमा नेपालले उठाएका विषयमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले उनले पाँच प्रभावशाली जलवायु दूतसँग पनि छलफल गरिएको थियो।
छलफलमा बेलायतकी रेचेल काइट, अस्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमैकाका डेल वेबर र संयुक्त राष्ट्रसंघका महासचिवका दूत सेल्विन हार्ट सहभागी थिए।
उनले हरित जलवायु कोषको उच्च नेतृत्वसँग आगामी कार्यक्रमबारे छलफल गरे।
जेनेभास्थित विश्व मौसम विज्ञान संगठनको जलवायु मापन कोषसम्बन्धी कार्यक्रममा पनि उनले सम्बोधन गरे।
जलवायु र अर्थशास्त्रका विज्ञ प्राध्यापक योहान रक्स्त्रम र प्राध्यापक निकलस स्टर्नसँग पनि उनले भेटघाट गरे।
सन् २०२६ का लागि टाइम पत्रिकाले छनोट गरेका जलवायु क्षेत्रका विश्वका १०० प्रभावशाली व्यक्तित्वको सम्मानमा आयोजित कार्यक्रममा पनि उनी सहभागी भएका थिए।