नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भारतबाट नेपालमा अपेक्षित लगानी आउन नसकेको बताएका छन्।
भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख विदेशी लगानीकर्ता भए पनि भारतीय निजी क्षेत्रको लगानी अपेक्षाअनुसार नभएको उनले बताए।
नयाँदिल्लीमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले नेपालमा भारतीय लगानी एक अर्ब अमेरिकी डलरभन्दा कम रहेको बताए। भारतले गत वर्ष ९४ अर्ब ५० करोड अमेरिकी डलर बराबरको वैदेशिक लगानी भित्र्याएको थियो। नेपालले भारतबाट लगानीमैत्री सुधार र प्रभावकारी कर्मचारीतन्त्रको अभ्यास सिक्नुपर्ने उनले बताए।
नेपालले १०२ उद्योगमा स्वचालित प्रक्रियाबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था गरेको छ। ५९ वटा ऐन र करिब ५०० दफा संशोधनको प्रक्रिया पनि अघि बढाएको उनले जानकारी दिए।
नेपाल र भारतबीच व्यापार, पारवहन, पूर्वाधार, ऊर्जा, लगानी, प्रविधि र सम्पर्क विस्तारलाई प्राथमिकता दिनुपर्ने उनले बताए। नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँच दिन दुई देशका गुणस्तर मापदण्डबीच पारस्परिक मान्यता आवश्यक रहेको उनको भनाइ छ।
भारतका बन्दरगाह नेपालको व्यापारिक प्रवेशद्वार हुन्। त्यसैले रेलमार्ग, विद्युतीय कार्गो ट्र्याकिङ र एकीकृत जाँच चौकीलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए। भैरहवा, नेपालगञ्ज र दोधारा–चाँदनीलाई व्यापार तथा पारवहन केन्द्रका रूपमा विकास गर्नुपर्ने उनको प्रस्ताव छ।
नेपालमा ४० हजार मेगावाटभन्दा बढी आर्थिक रूपमा सम्भाव्य जलविद्युत् उत्पादन क्षमता छ। तर, यसको करिब दश भागको एक भाग मात्रै विकास भएको छ। भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापार गर्ने सहमति कार्यान्वयन गर्नुपर्ने उनले बताए।
पर्यटन, कृषि प्रशोधन, औषधि, सिमेन्ट र सूचना प्रविधिमा भारतीय लगानीको सम्भावना रहेको उनले बताए। नेपाल लिभर, नेपाल एसबीआई बैंक, डाबर नेपाल र सूर्य नेपालले लामो समयदेखि नेपालमा सफल व्यवसाय गरिरहेको उनले उल्लेख गरे।
नेपालले लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति लागू गरेको छ। यसले कम्तीमा पाँच वर्ष स्थिर नीति कायम गर्न र लगानीको कानुनी तथा भौतिक सुरक्षा सुनिश्चित गर्न सहयोग गर्ने उनले बताए।
श्रेष्ठले नेपाली उद्योगले भारतमा भोगिरहेका तीन समस्या पनि उठाए। नेपाली जुट उत्पादनमा सन् २०१७ देखि एन्टी डम्पिङ शुल्क लाग्दै आएको छ। यसलाई यस वर्ष सेप्टेम्बरमा पुनरावलोकन गरिएको छ। काउन्टरभेलिङ शुल्क लगाउने विषय पनि विचाराधीन छ।
नेपाली जुट उद्योगले पूर्वी नेपालका हजारौँ किसान र श्रमिकलाई रोजगारी दिएको उनले बताए। यी उद्योगले भारतबाटै कच्चा जुट र मेसिनरी आयात गर्छन्। त्यसैले नेपाली जुट उद्योगलाई भारतीय उद्योगको प्रतिस्पर्धी नभई साझेदारका रूपमा हेर्नुपर्ने उनको भनाइ छ।
भारतले स्टिलमा लगाएको सेफगार्ड शुल्क नेपालमा पनि लागू भएको छ। यसका कारण गत आर्थिक वर्षमा भारततर्फ नेपालको स्टिल निर्यात ६० प्रतिशतभन्दा बढीले घटेको उनले बताए। भारत विश्वको दोस्रो ठूलो स्टिल उत्पादक हो। नेपाली स्टिलको हिस्सा भारतीय बजारमा निकै सानो भए पनि नेपालका उद्योगका लागि यो निर्यात महत्त्वपूर्ण रहेको उनले बताए।
भारतीय मानक ब्युरो (बीआईएस) प्रमाणीकरण प्रक्रिया केही सहज भएको भन्दै उनले भारतलाई धन्यवाद दिए। तर, प्रमाणपत्र नवीकरणमा हुने ढिलाइ र कच्चा पदार्थको प्रमाणीकरणसम्बन्धी नियमले अझै सीमामा सामान रोकिने गरेको उनले बताए।
व्यापारिक अवरोध र गुणस्तर प्रमाणीकरणका समस्या समाधान गर्न भारतीय उद्योग परिसंघ (सीआईआई) र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त कार्यदल बनाउनुपर्ने उनले प्रस्ताव गरे। कार्यदलले दुवै सरकारलाई साझा सुझाव दिनुपर्ने उनको भनाइ छ।
नेपालले भारतबाट धेरै वस्तु आयात गर्छ। नेपाली उद्योग बलियो भए भारतका लागि पनि बजार विस्तार हुने उनले बताए।
नेपालले आगामी पाँचदेखि सात वर्षमा अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ। यो लक्ष्य हासिल गर्न भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न उनले आग्रह गरे।