भारतले नेपाललाई उपलब्ध गराउने घोषणा गरेको २ खर्ब ४० अर्ब रुपैयाँको आर्थिक सहयोगमध्ये १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र ५६ अर्ब रुपैयाँ अनुदान हुने भएको छ।
कुल सहयोगको ७६.६७ प्रतिशत ऋण र २३.३३ प्रतिशत अनुदान रहने भएको हो।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यमा सहयोगको बाँडफाँटबारे जानकारी गराइएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा घोषणा गरेको आर्थिक सहयोग प्याकेजमध्ये ३५ अर्ब भारु अर्थात् ५६ अर्ब नेपाली रुपैयाँ भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि अनुदानस्वरूप उपलब्ध गराइनेछ।
बाँकी १ खर्ब १५ अर्ब भारु अर्थात् १ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ लाइन अफ क्रेडिट (सहुलियतपूर्ण ऋण) अन्तर्गत उपलब्ध गराइने संयुक्त वक्तव्यमा उल्लेख छ।
नेपालले भारतसँग १ खर्ब भारु अनुदान र थप १ खर्ब भारु ऋण गरी कुल २ खर्ब भारु आर्थिक सहयोग उपलब्ध गराउन अनुरोध गरेको थियो। तर भारतले घोषणा गरेको प्याकेजमा अनुदानको हिस्सा नेपालले माग गरेभन्दा कम छ भने ऋणको हिस्सा बढी छ।
भारतले घोषणा गरेको कुल सहयोगमध्ये झन्डै तीन चौथाइ ऋणका रूपमा र बाँकी एक चौथाइभन्दा कम अनुदानका रूपमा आउने देखिन्छ। यसअनुसार नेपालले प्राप्त गर्ने २ खर्ब ४० अर्ब रुपैयाँमध्ये ठूलो हिस्सा भविष्यमा फिर्ता गर्नुपर्ने सहुलियतपूर्ण ऋण हुनेछ।
भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि छुट्याइएको ५६ अर्ब रुपैयाँ भने अनुदान भएकाले फिर्ता गर्नुपर्ने छैन।