नेपाली सूचना प्रविधि कम्पनीले विकास गरेका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न र स्वदेशमै तिनको प्रयोग बढाउनुपर्नेमा प्रविधि उद्यमीहरूले जोड दिएका छन्।
नेपालमा विकास भएका प्रविधि विदेशी बजारमा पुऱ्याउने सम्भावना रहे पनि त्यसका लागि व्यावसायिक साझेदारी र बजार पहुँच विस्तार गर्नुपर्ने उनीहरूको भनाइ छ।
नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनीज (नास–आइटी) ले आयोजना गरेको दोस्रो संस्करणको 'नास–आइटी एक्स्पो' मा सहभागी उद्यमीहरूले नेपाली प्रविधि कम्पनीका उत्पादन, तिनको व्यावसायिक उपयोग र अन्तर्राष्ट्रिय बजार विस्तारका सम्भावनाबारे धारणा राखेका हुन्।
छलफलमा आकाश टेकका संस्थापक तथा प्रबन्ध निर्देशक बृजेशप्रसाद गुप्ताले कम्पनीले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीबारे जानकारी दिए।
सन् २००८ देखि सुरू भएको उद्यमशीलता यात्रामा विकास गरिएको उक्त प्रणालीले पाठ र आवाजमा आधारित संवादलाई एउटै प्रणालीमा एकीकृत गर्ने उनले बताए।
उनका अनुसार उक्त प्रणालीले फोन, ह्वाट्सएप, फेसबुक र टेलिग्रामलगायत माध्यमबाट आउने ग्राहकका संवाद व्यवस्थापन गर्न सक्छ।
संवादकै आधारमा भेटघाटको समय तय गर्ने तथा प्रस्ताव तयार गरेर पठाउने सुविधासमेत यसमा रहेको उनले जानकारी दिए।
नेपाली प्रविधि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने क्रममा आगामी जनवरी १५ मा भारतमा आकाशटेल सार्वजनिक गर्ने तयारी रहेको उनले बताए।
ऱ्यापिडका प्रमुख कार्यकारी अधिकृत आशुतोष साहले बैंकिङ प्रणाली र व्यावसायिक लेखा सफ्टवेयरबीच प्रत्यक्ष एकीकरण गर्न सकिने प्रविधिबारे जानकारी दिए।
युरोपको पिएसडी–२ संरचना तथा आइएसओ २००२२ मापदण्डमा आधारित प्रणालीबाट बैंक खाताको मौज्दात हेर्न, भुक्तानी गर्न र हिसाब मिलान गर्न सकिने उनले बताए।
यसले व्यवसायको वित्तीय कारोबारलाई सहज बनाउनुका साथै मानवीय हस्तक्षेप घटाउन सक्ने उनको भनाइ थियो।
एड्रेसग्राफ नेपाल (कताहो) का संस्थापक तथा सल्लाहकार लक्ष्मणप्रसाद रिमालले स्थानीय समस्या समाधानका लागि स्थानीय प्रविधि विकास गर्नुपर्ने बताए।
२८ वर्षको प्रविधि विकास यात्रामा सयभन्दा बढी उत्पादन निर्माण गरेको उल्लेख गर्दै उनले नेपालमै निर्मित विद्युतीय मतदान उपकरणले पेटेन्ट अधिकार प्राप्त गरेको जानकारी दिए।
रिमालका अनुसार सात वर्षको अनुसन्धानपछि विकास गरिएको 'कताहो' डिजिटल ठेगाना प्रणालीबाट तीन सेकेन्डमै आफ्नो स्थानको विवरण अरूलाई पठाउन सकिन्छ।
थर्ड फ्याक्टर एआईका प्रमुख व्यवसाय अधिकृत सोजन प्रजापतिले डिजिटल कारोबार विस्तार भए पनि बैंक खाता खोल्ने, बीमा दाबी गर्ने र पहिचान प्रमाणीकरण गर्ने प्रक्रियामा अझै भौतिक उपस्थितिको आवश्यकता रहेको बताए।
डिजिटल पहिचान प्रमाणीकरण प्रविधिको प्रयोग बढाउन सके बैंकिङ, बीमा तथा अन्य डिजिटल सेवामा सेवाग्राहीको भौतिक उपस्थितिमा निर्भरता घटाउन सकिने उनको भनाइ थियो।