नेपालले पछिल्ला वर्षहरूमा दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली(इपिएस) अन्तर्गत सबैभन्दा धेरै श्रमिक पठाउन थालेको छ।
नेपालीहरू काममा इमानदार हुने हिसाबले कोरियाले ठूलो संख्यामा श्रमिकहरू लगिरहेको कोरियाली अधिकारीहरू बताउँछन्।
इपिएस सेन्टरका प्रतिनिधि किमजोङ सामले काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सन् २०२२, २०२३ र २०२५ मा कोरियाले नेपालबाट सबैभन्दा धेरै श्रमिक लगेको बताए।
कोरियाले इपिएस प्रणालीमार्फत नेपाल सहित विभिन्न १७ वटा मुलुकबाट इपिएस श्रमिक लैजान्छ।
जसमा नेपाल, बंगलादेश, कम्बोडिया, चीन, इन्डोनेसिया, किर्गिस्तान, लाओस, मंगोलिया, म्यानमार छन्।
त्यस्तै, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, ताजिकिस्तान, थाइल्यान्ड, पूर्वी टिमोर, उज्वेकिस्तान र भियतनामबाट लैजाने गर्छ।
कोरियाको मानव संसाधन विकास सेवा (एचआरडी कोरिया) का अनुसार कोरियाले २०२२ मा इपिएस प्रणालीमार्फत कुल एक लाख एक हजार ५१३ आप्रवासी श्रमिक भित्र्याएको थियो।
उक्त वर्ष नेपालबाट मात्रै १४ हजार ४९५ जना गएका थिए। सबैभन्दा धेरै श्रमिक पठाउने स्रोत मुलुक नेपाल बनेको थियो।
२०२३ मा कुल एक लाख १८ हजार ७२८ जना आप्रवासी श्रमिक कोरिया प्रवेश गरेकोमा नेपालबाट १९ हजार ७३८ गएका थिए।
यो वर्ष पनि सबैभन्दा धेरै नेपालबाटै गएका थिए।
२०२४ मा भने सबैभन्दा धेरै आप्रवासी पठाउने मुलुक नेपाल थिएन। नेपालबाट ९ हजार ३०९ जना गएका थिए।
आर्थिक मन्दीको चपेटामा परेसँगै उक्त वर्ष त्यहाँका निजी क्षेत्रमा कामदारको माग कम भएको र नेपाली पनि कमै पुगेको उल्लेख छ।
उक्त वर्ष त्यहाँका निजी क्षेत्रमा कामदारको मागमा आएको गिरावटकै कारण नेपालबाआट जानेको संख्यामा कमी आएको उल्लेख छ।
उक्त वर्ष कोरियाले इपिएस प्रणालीमार्फत कुल ९५ हजार ८४३ आप्रवासी श्रमिक भित्र्याएको थियो।
२०२५ मा फेरि सबैभन्दा धेरै कामदार पठाउने मुलुक नेपाल बनेको हो। २०२५ मा कुल ७२ हजार ७३४ जना श्रमिक भित्रिएकोमा नेपालबाट सबैभन्दा धेरै ११ हजार २४० जना गएका थिए।
इपिएस शाखा ग्वार्कोका निर्देशक अनुप ढकालले पनि कोरियामा नेपाली श्रमिकहरूको रूचि बढ्दो रहेको बताए।
शाखाका अनुसार कोरियामा हालसम्म एक लाख २५ हजार २१ जना इपिएसमार्फत पुगिसकेका छन्।
कोरियामा इपिएसमार्फत अदक्ष श्रमिकहरू जान्छन्।
मलेसिया खाडी लगायत गन्तव्य मुलुकहरूको तुलनामा कमाइ राम्रो भएका कारण पनि युवाहरूको आकर्षण बढ्दो छ।
इपिएस मार्फत गएका श्रमिकहरूको न्यूनतम तलब हाल प्रतिघण्टा १० हजार ३२० वन तोकिएको छ।
अब २०२७ जनवरीदेखि न्यूनतम तलब बढ्ने इपिएस सेन्टर प्रतिनिधि किमजोङले बताए।
उनका अनुसार अब कोरियाले तलब बढाएर प्रतिघण्टा न्यूनतम १० हजार ७०० वन पुर्याउने छ।
उनले कोरियाली श्रमिक र आप्रवासी श्रमिकहरूका लागि एउटै तलब हुने बताए।
'हामी सबै श्रमिकहरूलाई एउटै व्यवहार गर्छौं। सबैलाई एउटै श्रमकानुन लागु हुन्छ। अब कोरियाले बढाउन लागेको तलब पनि कोरियाली र आप्रवासीलाई प्रतिघण्टा १० हजार ७०० वन नै हुन्छ,' उनले भने।
कोरियाले हरेक वर्ष श्रमिकहरूको पारिश्रमिक बढाउने गर्छ। जसले गर्दा पनि कोरियामा आप्रवासी श्रमिकहरूको आकर्षण बढ्दो रहेको उनको भनाइ छ।
नेपालमा परीक्षामा कडाई गर्दा समेत ठूलो संख्यामा युवाहरू उत्तीर्ण हुने उनले बताए।
'कटअफ (न्यूनतम उत्तीर्ण अंक) ९७.५ राख्दा पनि पास हुनेको संख्या अत्यधिक छ,' उनले भने, 'अरू देशमा कटअफ ६० छ र पनि थोरै पास हुन्छन्। नेपालको जति कटअफ राख्ने हो भने पास नै नहुने थिए कि।'
नेपालबाट इपिएस प्रणाली अन्तर्गत कोरियाले सन् २००८ देखि उत्पादनमूलक तथा कृषि क्षेत्रमा नेपाली श्रमिकहरू लैजान थालेको हो।
अहिले पानीजहाज निर्माण लगायत क्षेत्रमा समेत नेपालीहरू गइरहेका छन्।
कोरियामा अबसरसँगै चुनौतीहरू पनि छन्। कतिपय श्रमिकहरू रोजगारदाताको दबाबमा काम गर्न बाध्य छन्।
रोजगारदाताको दबाब र अत्यधिक परिश्रम गर्नुपर्ने कारण कतिपयले शारीरिकसँगै मानसिक समस्या समेत झेलीरहेका छन्।
कार्यस्थलमा दुर्घटना तथा आत्महत्याका घटना समेत हुने गरेका छन्।