मलेसियाले आगामी ५ नोभेम्बरदेखि नयाँ व्यवस्था लागू गर्ने भएको छ।
मलेसियाले ५ नोभेम्बरदेखि नेपालका २७५ म्यानपावरबाट मात्रै श्रमिक भर्ना प्रक्रिया अगाडि बढाउने भएको हो।
मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्न म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) प्रणाली सञ्चालन गरिरहेको बेस्टिनेट कम्पनीले मेमो सार्वजनिक गर्दै यस्तो जनाएको हो।
एफडब्लुसिएमएसमा सुरूमा २५ कम्पनी सूचीकृत गरिएका थिए। पछि ती कम्पनीको रोहबरमा थप २५० सूचीकृत छन्।
बेस्टिनेटले 'नेपाल ट्रान्जिसन: बायो-मेडिकल एन्ड भिडिआर कट-अफ डेट्स' शीर्षकको मेमोमार्फत् अनुसार सूचीकृत कुल २७५ वटा म्यानपावर कम्पनीबाट मात्रै श्रमिक भर्ती गर्ने जनाएको हो।
मलेसियाले नेपालसँग छलफल नै नगरी एकतर्फी रूपमा उसको प्रणालीमा नेपालका म्यानपावर सूचीकृत गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ।
मलेसियाले नेपालमा एकतर्फी रूपमा सीमित कम्पनीमार्फत मात्रै श्रमिक भर्ना प्रक्रिया लागू गरेर सिन्डिकेट गर्न खोजेको आरोप छ।
यो समस्या समाधानका लागि कूटनीतिक पहल हुनुपर्ने आवाज उठिरहेको छ।
यसैबीच, बेस्टिनेटले ६ अक्टोबर अर्थात असोज २० गते मेमो जारी गर्दै सीमित कम्पनीबाट मात्रै श्रमिक लिने जनाएको हो।
मेमोअनुसार नयाँ व्यवस्था लागू हुनुअघि विद्यमान प्रणालीबाट हुँदै आएको कामदारको बायो–मेडिकल दर्ता र यसअघि मेडिकल गरेर कलिङ भिसा आइसकेका भिडिआर प्रक्रियाका लागि विभिन्न 'कटअफ' मिति तोकिएको छ।
नयाँ प्रणालीमा आबद्ध हुने म्यानपावरहरूको दर्ता, अकाउन्ट सक्रियता र प्रणालीसम्बन्धी तालिमका लागि पनि छुट्टाछुट्टै मिति तोकेको जनाएको हो।
१५ अक्टोबरपछि पुरानो प्रणालीमा बायोमेडिकल दर्ता नहुने समेत जनाएको छ।
मेमोअनुसार १५ अक्टोबर २०२६ हालको व्यवस्थाअन्तर्गत बायोमेडिकल दर्ताको अन्तिम मिति हो।
त्यस मितिसम्म कुनै श्रमिकको बायोमेडिकल दर्ता एफडब्लुसिएमएसमा पठाएर रेकर्डमा आइसकेको हुनुपर्ने उल्लेख छ।
त्यसपछि हालको व्यवस्थाअन्तर्गत नयाँ बायोमेडिकल दर्ता गर्न पाइने छैन।
तर पुरानो व्यवस्थामा बायोमेडिकल दर्ता बन्द हुँदा मलेसिया जाने प्रक्रियामा रहेका श्रमिकको प्रक्रिया स्वतः रद्द नहुने जनाएको छ।
बेस्टिनेटले अहिले पुरानो व्यवस्थाअन्तर्गत प्रक्रियामा रहेका श्रमिकको रेकर्ड मिलाएर आवश्यक काम पूरा गर्न मेडिकल सेन्टरलाई निर्देशन दिएको छ।
मेडिकल सेन्टरहरूले पुरानो व्यवस्थाअन्तर्गत रहेका सबै श्रमिकको रेकर्ड समीक्षा गरी मिलाउनुपर्ने उल्लेख गरेको छ।
बायोमेट्रिक दर्ता, परिचय प्रमाणीकरण, मेडिकल परीक्षण, प्रयोगशाला रिपोर्ट, पुनः परीक्षण, मेडिकल रेकर्डको समीक्षा वा सच्याउनुपर्ने अवस्थाका श्रमिक पहिचान गर्न पनि भनिएको छ।
त्यसैगरी, बाँकी रहेका सबै मेडिकल परीक्षण तत्काल पूरा गरी रिपोर्ट पठाउनुपर्ने भनेको छ।
योग्य श्रमिकले ३१ अक्टोबर २०२६ सम्म भिडिआर (भिसा विथ रिफ्रेन्स) आवेदनको प्रक्रिया अघि बढाउन सक्ने गरी यो व्यवस्था गरिएको उल्लेख गरेको छ।
पुरानो प्रक्रिया पूरा गरेका श्रमिकले नयाँ प्रणाली अनुसार फेरि भने गर्न नपर्ने जनाएको छ।
तर, श्रमिकको फेरि मेडिकल परीक्षण गर्नुपर्ने वा थप शुल्क लाग्ने अवस्था भए आवश्यक निर्देशन तोकिएको पनि जनाएको छ।

