नेपाल र मलेसियाबीच श्रमिक छनौट तथा भर्ना प्रक्रियाका सम्बन्धमा देखिएका विषयहरू आपसी संवाद, सहकार्य र समझदारीका माध्यमबाट सम्बोधन गर्ने उद्देश्यले नेपाल सरकारले कूटनीतिक पहल अघि बढाएको युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयमार्फत श्रम मन्त्रालयले मलेसियाली पक्षलाई औपचारिक पत्राचार गर्दै नेपालले मलेसियाको एफडब्लुसिएमएस प्रणालीअन्तर्गत नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषय र अन्य श्रम आप्रवासन क्षेत्रका विभिन्न सवालहरुमा द्विपक्षीय छलफल गर्न संयुक्त कार्यदल (जइन्ट वर्किङ ग्रुप) को बैठक काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको सचिवालयले जनाएको हो।
'नेपालले उक्त बैठकका लागि सन् २०२६ नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ का मितिहरू प्रस्ताव गर्दै मलेसियाली पक्षको अनुकूलताअनुसार बैठकको मिति तय गर्न सकिने भनेको छ,' सचिवालयले भनेको छ।
साथै, श्रमिक भर्ना प्रक्रियामा निरन्तरता, पूर्वानुमानयोग्यता र सहजता कायम राख्न दुवै पक्षबीच आपसी सहमतिबाट नयाँ व्यवस्था तय नभएसम्म विद्यमान प्रक्रियालाई निरन्तरता दिनुपर्ने नेपालको धारणा रहेको उल्लेख छ।
प्रस्तावित बैठकमा श्रमिक छनौट तथा भर्ना प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयका साथै सन् २०१८ मा नेपाल र मलेसियाबीच सम्पन्न श्रमसम्बन्धी समझदारीपत्रको नवीकरणसम्बन्धी मस्यौदालाई अन्तिम रूप दिने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
सरकारले मलेसियासँगको दीर्घकालीन श्रम सहकार्यलाई उच्च महत्त्व दिँदै नेपाली श्रमिकको हित संरक्षण, सुरक्षित एवं मर्यादित वैदेशिक रोजगारीको प्रवर्द्धन तथा दुवै मुलुकको साझा हितअनुकूल श्रम सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।