सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नख्खुस्थित एनसेल डेटा सेन्टर पुगेर आन्दोलनपछि कम्पनीको सेवा निरन्तरता र क्षतिको अवस्थाबारे चासो व्यक्त गरेका छन्।
भदौ २३ र २४ गतेको आन्दोलनमा लैनचौरस्थित एनसेल कर्पोरेट कार्यालयमा आगजनी तथा तोडफोड हुँदा कम्पनीले ६७ करोड रुपैयाँभन्दा बढी क्षति बेहोरेको थियो।
कर्पोरेट कार्यालय क्षतिग्रस्त भएपछि त्यहाँका धेरै कार्य डेटा सेन्टरमार्फत सञ्चालन भइरहेको छ। मन्त्री खरेलले सोमबार साइट निरीक्षण गर्दै एनसेलले ब्यहोरेको क्षतिप्रति दुःख व्यक्त गरे।
उनले नेपाल टेलिकम जस्तै निजी क्षेत्रका सेवा प्रदायकसमेत बराबरी प्राथमिकतामा रहने भन्दै कुनै विभेद नहुने आश्वासन दिए। 'एनसेलको फेयर बिजनेसमा सहयोग गर्छौँ, नागरिकको सम्मान हुने वातावरण बनाउनु पर्छ,' उनले भने।
मन्त्री खरेलले एनसेलले आगामी दिनमा सगरमाथा बेसक्याम्पसम्म फोर–जी सेवा विस्तार गर्ने, जेन्जी युवामुखी एक करोड रूपैयाँ बराबरको स्कॉलरशिप कार्यक्रम ल्याउने जस्ता योजनाबारे जानकारी पाएको भन्दै कम्पनीलाई धन्यवाद दिए।
एनसेलका सिइओ माइकल फोलेले नेपालमा दूरसञ्चार सेवा अझै विश्वस्तरमा पुर्याउन चुनौती रहेको स्वीकार्दै ठूला शहरदेखि ग्रामीण क्षेत्रमा बलियो पूर्वाधार निर्माण अपरिहार्य भएको बताए।
उनले गुणवत्तायुक्त सेवा सुनिश्चित गर्न कम्पनीले निरन्तर ठूलो मात्रामा पुनर्लगानी गर्नुपर्ने उल्लेख गर्दै सुरक्षित व्यावसायिक वातावरण आवश्यक हुनेमा जोड दिए।