लोकप्रिय भिडिओ एप टिकटकले अब अमेरिकामा छुट्टै कम्पनी बनाएर सञ्चालन गर्ने सम्झौता गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबपछि अमेरिकामा प्रतिबन्धबाट जोगिनका लागि टिकटकले त्यहाँ छुट्टै कम्पनी बनाएर सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेको हो।
टिकटकका प्रमुख कार्यकारी शोउ च्यूले त्यसरी सम्झौता भएको भनेर बिहीबार कर्मचारीलाई सूचना पठाएको हो।
टिकटकलाई अमेरिकामा दीर्घकालिन रूपमा चल्न सजिलो हुने देखिएको छ।
अमेरिकाले गत वर्ष कानुन पारित गरेर टिकटकलाई चिनियाँ स्वामित्वबाट हटाउने कि प्रतिबन्ध खेप्ने भनेर दुइटा विकल्प दिएको थियो।
ट्रम्पले प्रतिबन्ध लागू गर्ने मिति पटक–पटक सार्दै टिकटकलाई अमेरिकन स्वामित्वतर्फ मोड्ने प्रयास गरेका थिए।
सम्झौताअनुसार अमेरिकामा चल्ने टिकटकको स्वामित्व नयाँ संयुक्त कम्पनीमार्फत हुनेछ। त्यसको ५० प्रतिशत हिस्सा अमेरिकी प्रविधि कम्पनी ‘ओर्याकल’, लगानी संस्था ‘सिल्भर लेक’ र युएई आधारित कम्पनी ‘एमजीएक्स’ को समूहले पाउनेछन्।
करिब ३० प्रतिशत हिस्सा बाइटडान्सका पुराना लगानीकर्तासँग रहनेछ भने करीब २० प्रतिशत हिस्सा बाइटडान्स आफैले राख्नेछ।
च्यूका अनुसार सम्झौता आगामी वर्षको जनवरी २२ भित्र टुंगो लाग्नेछ। बाइटडान्स र टिकटक दुवैले सम्झौताका सबै शर्त मानिसकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
ट्रम्प प्रशासनले यसअघि सेप्टेम्बरमा चीनसँग सहमति भएको दाबी गर्दै अमेरिकामा टिकटकको नियन्त्रण मुख्यतः अमेरिकी लगानीकर्तालाई दिन मार्ग प्रशस्त गरेको थियो।
त्यतिबेला राष्ट्रपतिले कानुनी प्रतिबन्ध १२० दिन पछाडि सारिदिएका थिए, ताकि सम्झौता टुंगिन सकोस्।
अमेरिकी कानुनअनुसार टिकटकलाई प्रतिबन्धबाट जोगिन चिनियाँ पक्षले अमेरिकी सम्पत्तिको करीब ८० प्रतिशत हिस्सा गैर–चिनियाँ लगानीकर्तालाई हस्तान्तरण गर्नैपर्ने व्यवस्था छ।
सम्झौता अनुसार अमेरिकी प्रयोगकर्ताको निजी जानकारी अब नयाँ अमेरिकन कम्पनीले देशभित्रै सुरक्षित राख्नेछ। त्यसको निगरानी ओर्याकलले गर्नेछ।
अमेरिकी प्रयोगकर्ताको नियमन पनि यही कम्पनीले गर्नेछ। तर व्यापार–व्यवस्था, विज्ञापन र बजार विस्तार भने बाइटडान्सको हातमा रहनेछ।
सम्झौता पूरा हुन चीन सरकारको स्वीकृति आवश्यक छ।
ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङ सहमत भएको दाबी गरेका छन्। तर चिनियाँ पक्षले आधिकारिक रूपमा पुष्टि गरेको छैन। सम्झौताका लागि दुबै देशका नियामक स्वीकृतिहरू चाहिनेछन्।