एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्य गरेको छ।
निःशुल्क उपस्थिति जनाउन सकिने यो कार्यक्रमले नेपालमा बढ्दो क्रममा रहेका कन्टेन्ट क्रिएटरहरूलाई व्यावहारिक सिकाइ, व्यावसायिक सम्पर्क तथा सहकार्यका अवसरहरू प्रदान गर्नेछ।
यो वर्षको क्रिएटर्स मेला २०८२ माघ ३ गते चितवनबाट सुरू हुँदैछ। त्यसपछि यो कार्यक्रम माघ १० गने नेपालगञ्ज र माघ १६ र १७ गते काठमाडौंमा आयोजना हुनेछ।
सन् २०२३ मा सुरू भए देखिनै क्रिएटर्स मेलाको साझेदारका रूपमा एनसेलले सहयोग गर्दै आएको छ। कार्यक्रमले नेपाली युवाहरूलाई कन्टेन्ट क्रिएशनमार्फत सशक्त बनाउने अनि डिजिटल नेपालको उद्देश्यमा टेवा पुर्याउने लक्ष्यलाई आत्मसाथ गर्दै आएको छ।
'भिजन टु भेन्चर' नारा रहेको यो वर्षको कन्टेन्ट क्रिएटर्स मेला सहभागीहरूका योजनालाई कार्यान्वयन योग्य सिप तथा वास्तविक अवसरहरूमा बदल्नेमा केन्द्रित हुनेछ।
'क्रिएटर्स मेलाका लागि अमेरिकी दूतावाससँग निरन्तर सहकार्य गर्न पाउँदा हामी खुसी छौँ। क्रिएटर्स मेलाले उदीयमान तथा स्थापित क्रिएटरहरूलाई डिजिटल कन्टेन्टको युगमा सबैभन्दा महत्त्वपूर्ण अनि प्रभावशाली सामग्री सिर्जना गर्न आफ्नो सिप तिखार्ने अवसर प्रदान गर्नेछ,' एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विषाखा लक्ष्मी खड्काले बताइन्।
विद्यार्थी अनि अझै सिक्ने चरणमै रहेका उदीयमान क्रिएटर लक्षित यो कार्यक्रमले क्रिएटरहरूलाई आफ्ना सामाग्रीलाई थप परिष्कृत गर्न, विश्वसनीय बनाउन अनि दिगो तथा रचनात्मक व्यावसायिक भविष्य तयार पार्न प्रेरित गर्नेछ।
त्यसैगरी, अमेरिकाको नेपालस्थित दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले क्रिएटर्स मेलाले सिर्जनात्मक क्रियाकलाप मार्फत नेपालको अर्थतन्त्र सुदृढ गर्न सहयोग पुर्याउने संयुक्त राज्य अमेरिकाको प्रतिबद्धता झल्काउने बताएका छन्।
'देशभर ज्ञान, सिप र सञ्जाल विस्तार गरेर हामी उद्यमशीलता र रोजगारी सिर्जनालाई प्रवर्द्धन गरिरहेका छौँ। हामीले नेपाली क्रिएटरहरूलाई उनीहरूको प्रभाव स्थानीयस्तरमा मात्रै सीमित नगरी अमेरिकी व्यवसायिक साझेदार तथा विश्व बजारमा समेत सफलता प्राप्त गर्न सक्ने गरी तयार पार्ने छौं जसले गहिरो आर्थिक सम्बन्ध र साझा समृद्धिलाई प्रोत्साहन गर्छ,' उनले थपे।
एनसेल भिडिओ प्रतिस्पर्धा
क्रिएटर्स मेलाकै अवसरमा एनसेलले भिडिओ प्रतिस्पर्धा पनि आयोजना गरेको छ जसअनुरूप मेलाका सहभागीहरूलाई इन्स्टाग्राम र टिकटकमा एक मिनेटको भिडिओ अपलोड गर्न प्रोत्साहन गरिएको छ। क्रिएटरहरूलेः ‘एनसेल फोरजीले तपाईँको जीवन कसरी सजिलो बनाउँछ’ भन्ने विषयमा केन्द्रित रहेर भिडिओ तयार पार्नुपर्ने छ।
प्रतिस्पर्धीहरूले उक्त भिडिओमा एनसेललाई ट्याग गरेर ह्यासट्याग #CreateGaraPostGara अनि आफू सहभागी सहरलाई पनि ह्यासट्याग गरी भिडिओ अपलोड गर्नुपर्नेछ।
मेलाकैबीच प्रत्येक सहरमा एक जना विजेता छनोट गरिनेछ र उनीहरूले नगद पुरस्कार ५० हजार रूपैयाँ प्राप्त गर्नेछन्।
त्यसबाहेक विजयी प्रतिस्पर्धीले आगामी दिनहरूमा एनसेल फाउन्डेसनका विभिन्न क्रियाकलापहरूमा सहभागी हुने अवसर पनि प्राप्त गर्नेछन्।
सन् २०२३ बाट सुरू भएदेखि यो कार्यक्रममा हालसम्म पाँच हजारभन्दा बढी क्रिएटरहरू संलग्न भइसकेका छन्।
यो कार्यक्रमले देशका विभिन्न क्षेत्रका क्रिएटरहरूलाई एकै ठाउँमा ल्याएर व्यावसायिक ढंगबाट काम गरिरहेका व्यक्तिहरूबाट सिक्ने, उस्तै प्रकृतिका काम गरिरहेका समकक्षीहरूसँग जोडिने र कन्टेन्ट क्रिएसनलाई व्यावसायिक बनाउन उद्धत विशेषज्ञहरूसँग अन्तर्क्रिया गर्ने अवसर प्रदान गर्नेछ।
मेलामा विभिन्न सत्रहरू हुनेछन्। कुनै विषय वा व्यक्तिमा केन्द्रित ‘स्पट लाइट’ सत्र देखि प्यानल छलफल अनि विभिन्न विषयवस्तुमा गम्भीर विमर्ष क्रिएटर्स मेलामा हुनेछ।