नेपाल टेलिकमले २२औं वार्षिकोत्सवको अवसरमा मोबाइल, एफटिटिएच र डेटा प्याकेजमा विशेष सहुलियतसहितको 'वार्षिकोत्सव अफर' ल्याएको छ।
कम्पनीका अनुसार अफर आजदेखि लागु हुनेछन्।
टेलिकमले प्रिपेड सिम कार्डमा भारी छुट दिएको छ।
यसअघि ९० रुपैयाँमा बिक्री हुँदै आएको सिम १४ फागुनसम्म २२ दिनका लागि २२ रूपैयाँमै उपलब्ध हुनेछ।
त्यस्तै एफटिटिएच प्याकेज जडान गर्दा लाग्ने शुल्क एक महिनासम्म निःशुल्क गरिएको छ।
यसअघि कम्पनीले सबै एफटिटिएच प्याकेजहरूमा नयाँ जडान गर्दा ५०० रूपैयाँ शुल्क लिँदै आएको थियो।
टेलिकमले दुई सय २२ रूपैयाँमा २२ दिनको लागि २२ जिबी डेटा अफर ल्याएको छ।
यस्तै २२ रूपैयाँमा १ दिनका लागि २ जिबी डेटा दिने भएको छ।
यसबाहेक सेलिब्रेसन प्याकको रूपमा दुई सय २२ रूपैयाँमा २२ दिनका लागि दुई सय २२ मिनेट अल नेटवर्क भ्वाइस कल, ४ जिबी डेटा र दुई सय २२ ओटा अल नेटवर्क एसएमएसको समेत कम्पनीले उपलब्ध गराउने छ।
टेलिकमको वार्षिक वा बहु-वर्षीय एफटिटिएच डेटा सेवा प्रयोग गरिरहेका ग्राहकले आफ्नो मोबाइल नम्बर कम्पनीलाई उपलब्ध गराएमा २२ जि
बी मोबाइल डेटा बोनस समेत प्राप्त गर्नेछन्।
यो बोनस सुविधा नयाँ जडान गर्ने र नवीकरण गर्ने ग्राहकले भोलिपल्टै प्राप्त गर्नेछन्। यस्तो मोबाइल डेटा बोनसको समयसीमा ३ दिनको हुनेछ।
वार्षिकोत्सवकै अवसरमा कम्पनीले जिएसएम प्रिपेड प्रयोगकर्ताका लागि सुन्धारा र भैरहवा कार्यालयबाट अनलाइन केवाइसी अपडेटको परीक्षण सुरू गरेको छ।
साथै, २०७९-८० सम्मको बक्यौता रहेको महसुल २०८२ माघ मसान्तसम्म भुक्तानी गरेमा जरिबानामा छुट दिने व्यवस्था गरिएको छ।
कम्पनीले २२ फागुन २०८२ सम्मका लागि विद्यार्थी अफरको समय थपेको छ।