नेपाल टेलिकमको नाफा वृद्धि भएको छ।
कम्पनीले सार्वजनिक गरेको नौ महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद मुनाफा गत वर्षको सोही अवधिको तुलनामा ९.८५ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा टेलिकमले ६ अर्ब २७ करोड २९ लाख रूपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
गत वर्षको सोही अवधिमा यस्तो मुनाफा ५ अर्ब ७१ करोड ५ लाख रूपैयाँ मात्र सीमित थियो।
मुनाफामा आएको यो सुधारसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ।
गत वर्ष ४२ रूपैयाँ ३ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले ९.९ प्रतिशतले बढेर ४६ रूपैयाँ ४७ पैसा पुगेको छ।
कम्पनीको मुख्य व्यवसाय अर्थात् सञ्चालन आयमा पनि सकारात्मक प्रभाव देखिएको छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा कुल सञ्चालन आय २५ अर्ब ९२ करोड ९६ लाख रूपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा ६१ करोड २० लाख रूपैयाँ अर्थात् २.४२ प्रतिशतले बढी हो।
त्यस्तै, अन्य वित्तीय स्रोतहरू समेत जोडेर कम्पनीको कुल आय २८ अर्ब ८५ करोड ४८ लाख रूपैयाँ पुगेको छ।
ब्याज, कर तथा ह्रासकट्टी अघिको मुनाफातर्फ पनि कम्पनीले १.३२ प्रतिशतको सामान्य वृद्धि हासिल गर्दै १४ अर्ब ३८ करोड २ लाख रूपैयाँ कायम गरेको छ।
वित्तीय विवरणअनुसार कम्पनीको आय र मुनाफा बढ्नुमा जिएसएम मोबाइल सेवाको राजस्वमा भएको वृद्धि र खर्च व्यवस्थापनको मुख्य भूमिका रहेको देखिन्छ।
गत वर्षको तुलनामा जीएसएम सेवातर्फको राजस्व ५७ करोड ७४ लाख रूपैयाँले बढेको छ भने ह्रासकट्टी खर्चमा ८.४६ प्रतिशतले कमी आएको छ।
कम्पनीले बैंक निक्षेपबाट प्राप्त गर्ने ब्याज आयमा भने करिब २०.५७ प्रतिशत अर्थात् ५७ करोड ६६ लाख रूपैयाँले गिरावट आएको छ।
बजारमा ब्याजदर निरन्तर घट्दै गएका कारण गिरावट आएको कम्पनीको भनाइ छ।