नेपाली आइटी कम्पनीले स्वीट्जरल्यान्डको बजारमा आफ्ना सेवा र प्रविधि समाधान प्रस्तुत गरेका छन्।
ज्युरिखमा आयोजित टेक रोडशोमा नेपालका १८ आइटी कम्पनीले आफ्ना सेवा प्रस्तुत गरेका हुन्।
नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनीज् (नास–आइटी) को आयोजना तथा स्विस नेपाल चेम्बर अफ कमर्स (एसएनसिसी) को सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।
नास आइटीका अनुसार नेपाली आइटी उद्योग र स्विट्जरल्यान्डका व्यवसायीबीच सहकार्यका सम्भावनाबारे छलफल भएको थियो।
लगानी र अन्तर्राष्ट्रिय बजार विस्तारका विषयमा पनि छलफल गरिएको थियो।
रोडशोमा सहभागी १८ कम्पनीले एक–एक मिनेटको कम्पनी पिच गरेका थिए।
उनीहरूले आफ्ना सेवा, विशेषज्ञता र प्रविधि समाधानबारे जानकारी दिए।
कम्पनीहरूले एआई, साइबर सुरक्षा, सफ्टवेयर विकास, प्रडक्ट डेभलपमेन्ट, आइटी सर्भिसेस र बिपिओका क्षेत्रमा गर्दै आएको काम प्रस्तुत गरेका थिए।
त्यस्तै, कस्टम वेब तथा एप्लिकेसन डेभलपमेन्ट, क्लाउड इन्फ्रास्ट्रक्चर र डेटा इन्जिनियरिङका सेवाबारे पनि जानकारी दिइएको थियो।
कार्यक्रममा नेपालको आइसीटी क्षेत्र, दक्ष जनशक्ति र आइटी निर्यातको अवस्थाबारे पनि छलफल भएको थियो। नेपाली कम्पनीका सेवा स्विट्जरल्यान्डसहित अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने विषयमा जोड दिइएको थियो।
नास–आइटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली आइटी कम्पनीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो सेवा विस्तार गर्नुपर्ने बताए।
नेपाली कम्पनी र विदेशी व्यवसायबीच सहकार्यका अवसर खोज्न रोडशो आयोजना गरिएको उनले बताए।
स्विस नेपाल चेम्बर अफ कमर्सले नेपाल–स्विट्जरल्यान्ड व्यापार तथा प्रविधि सम्बन्धबारे जानकारी दिएको थियो।
नेपाली आइटी कम्पनी र स्विस व्यवसायबीच सहकार्यका सम्भावनाबारे पनि छलफल भएको थियो।
नास–आइटीले नेपाली प्रविधि उद्योगको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि विभिन्न देशमा टेक रोडशो आयोजना गर्दै आएको छ।
स्विट्जरल्यान्डको रोडशो स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड को-अपरेसन (एसडिसी) लगायतका साझेदार तथा सरोकारवालाको सहयोगमा आयोजना गरिएको हो।