गत असोज दोस्रो साता आएको बाढीपहिरोले क्षति पुर्याएको बिपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास) को कटुञ्जेबेशी, मंगलटार, नेपालथोक क्षेत्रमा दैनिक यात्रा गर्ने यात्रुहरुले सास्ती भोग्नु परेको छ।
रोशीखोलाको बाढीले राजमार्गमा क्षति पुगेपछि निर्माण गरिएको डाइभर्सन सडक कच्ची र धुलाम्मे हुने भएका कारण यात्रुहरुले सास्ती भोग्नु परेको हो।
क्षतिग्रस्त राजमार्ग सरकारी स्तरको निर्णय र आर्थिक सहायताबिना बन्ने सम्भावना भने कम रहेको छ। त्यति समयसम्म भने कच्ची सडकमा नै यात्रा गर्नु पर्ने देखिन्छ।
राजमार्गको विभिन्न खण्डको पुनःनिर्माणका लागि करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने भएको छ।
डिभिजन सडक कार्यालय भक्तपुरले विपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनः निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरेको भए पनि पुनः निर्माणका लागि अझै स्रोत सुनिश्चित भएको छैन।
सो राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १ सय ६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो।
खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।
तस्बिरहरूः




















तस्बिर : नेपाल फोटो लाइब्रेरी।