पियोर इनर्जीले गत आर्थिक वर्ष २०८१/८२ मा ३७ हजार १५ मेगावाट विद्युत उत्पादन गरेको छ।
मंगलबार काठमाडौंमा आयोजित आठौं वार्षिक साधारणसभामा प्रगति प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । गोल्यान समूह अन्तर्गतको पियोर इनर्जी नेपालमा हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने सोलार कम्पनी हो।
कम्पनीले बाँकेमा १०–१० मेगावाट क्षमताका दुईवटा सोलार आयोजना सञ्चालन गरिरहेको छ। ब्लक–१ बाट १८ हजार ७ सय ६९ मेगावाट र ब्लक–२ बाट १८ हजार २ सय ४६ मेगावाट विद्युत उत्पादन गरिएको प्रगति प्रतिवेदनमा उल्लेख छ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ब्लक १ बाट १० हजार ७ सय १९ र ब्लक २ बाट १७ हजार ९ सय गरी कूल २८ हजार ६ सय मेगावाट विद्युत उत्पादन गरेको थियो।
गोल्यान समूहका प्रबन्ध निर्देशकसमेत रहेका पियोर इनर्जीका सञ्चालक समिति अध्यक्ष अक्षय गोल्यानले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा विद्युत बिक्रीबाट २५ करोड ९२ लाख रुपैयाँ आम्दानी भएको बताए। जुन आर्थिक वर्ष २०८०/८१ को भन्दा १९.२३ प्रतिशतले बढी हो।
वार्षिक प्रतिवेदन अनुसार कम्पनीको गत आर्थिक वर्षमा खुद नाफा ३ करोड १९ लाख ७९ हजार रुपैयाँ रहेको छ। सौर्य उर्जाको व्यापारिक उत्पादन सुरु गरेको दोस्रो वर्षमै कम्पनी नाफा कमाउन सफल भएको हो। आर्थिक वर्ष २०८०/८१ मा भने कम्पनी १ करोड ७५ लाख ८० हजार रुपैयाँ खुद घाटामा थियो।
नेपाल विद्युत प्राधिकरण र पियोर इनर्जीबीच २०७८ मंसिरमा विद्यतु खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो। पियोरले २०८० पुसमा सौर्य उर्जाको व्यापारिक उत्पादन सुरु गरेको प्राधिकरणको वार्षिक प्रतिवेदन सन् २०२३/२४ मा उल्लेख छ।
यसैबीच, साधारणसभाले कम्पनीमा तीनजना नयाँ सञ्चालक नियुक्त गरेको छ। संस्थापक समूहबाट सञ्जयकुमार साह, सर्वसाधारण समूहबाट प्रवेशकुमार आचार्य र स्वतन्त्र सञ्चालकबाट विशाखा लक्ष्मी खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो।