कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार कार्य अन्तिम चरणमा पुगेको छ।
माघ १ गते कोहलपुरस्थित सवस्टेशन ग्रिडबाट विद्युत लाइन छोड्ने गरी अन्तिम चरणका काम भइरहेको कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी विद्युत प्रसारण आयोजना कार्यालय सुर्खेतका प्रमुख रविकुमार चौधरीले सेतोपाटीलाई बताए।
‘माघ १ गते कोहलपुर ग्रिडबाट विद्युत लाइन छोड्ने लक्ष्यसहित काम भइरहेको छ,’ उनले भने, ‘त्यसपूर्व परीक्षणको कामहरू हुनेछन्।’
विस्तारित विद्युत प्रसारण लाइन उद्घाटन पूर्व विद्युत लाइन छोडेर पटक/पटक चेक गरिने उनले बताए।
आयोजना प्रमुख चौधरीले सुर्खेतको हर्रे क्षेत्रमा अप्ठ्यारो भूगोलका कारण ड्रोनबाट विद्युत तार तान्ने काम जारी रहेको पनि बताए।
चौधरीका अनुसार झन्डै दुई किलोमिटर जति दुरीमा ड्रोनको प्रयोग गरी विद्युत तार तान्ने काम भइरहेको भए पनि त्यहाँको अप्ठ्यारो भूगोल र बाक्लो हुस्सुका कारण काममा केही कठिनाइ भइरहेको छ।
‘ड्रोन एक किलोमिटर टाढा वा माथि पुग्यो भने हुस्सुका कारण देखिनै छोड्छ,’ चौधरीले भने, ‘केही दिन यताको प्रतिकूल मौसमका कारण ड्रोनबाट तार तान्ने काममा कठिनाइ उत्पन्न भइरहँदा काममा ढिलाइ हुन पुगेको छ।’
त्यो क्षेत्र राष्ट्रिय निकुञ्जको क्षेत्र भएका कारण तार तान्दा थप रूखहरू काट्नुपर्ने र काटेका रूखहरू पनि आफैले लिएर आउनु पर्ने निकुञ्जको नियम अनुसार ड्रोनबाट तार तान्दा सजिलो हुने निधोका साथ काम गर्नुपरेको उनले बताए।
‘एकातिर जंगलको अप्ठ्यारो भूगोल र त्यसमाथि काटेका रूखहरू आयोजना आफैले निकाल्नुपर्छ भन्ने निकञ्जको नियम छ,’ उनले भने, ‘त्यहाँ तार विस्तारका लागि थप रूख काट्यो भने त्यो कम्तीमा एक सय मिटर हाराहारी खोल्सामा पुग्ने अवस्था छ। जहाँबाट काटेको रूख निकाल्न थप समस्या हुन देखेर ड्रोनको प्रयोग गर्नु परेको हो।’
आयोजनाको काम पूरा भएमा कर्णालीबासीले भोग्दै आएको विद्युतको लो भोल्टेज लगाएका समस्या समाधान हुने अपेक्षा गरिएको छ।
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार कार्य पूरा गर्नका लागि यो बीचमा १३ हजार जति रूखहरू काट्नु परेको आयोजना प्रमुख चौधरीले बताए।
विद्युत लाइन विस्तारका लागि कोहलपुरदेखि आयोजनाका कुल एक सय ६२ टावर निर्माण कार्य पूरा भइसकेको उनले बताए।
सुर्खेतको सुब्बा कुनाको टावर ५० मिटर हाइटको निर्माण गरिएको र अन्य जम्मै टावरहरू भने लगभग ३० मिटर उचाइका निर्माण गरिएको प्रमुख चौधरीले जानकारी दिए।
झन्डै चार दशक पुरानो लाइन विस्थापित गर्ने गरी अन्तिम चरणका कामहरू भइरहेको रोकायाले बताए।
३७ वर्ष पहिले २०४५ सालमा बाँकेको कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरसम्म पहिलो पटक ३३ केभी लाइन विस्तार गरिएको थियो।
नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा भारतीय कम्पनी आरएस इन्फ्रा प्रोजेक्टले टेन्डरमा विद्युत विस्तारको काम गर्दै आएको छ।
२०७६ असार २२ मा ६५ करोड रुपैयाँ लागतमा दुई वर्षपछि काम सक्ने गरी भारतीय निर्माण कम्पनीले टेन्डरमार्फत् आयोजनाको काम गर्ने गरी सम्झौता गरेको थियो।
२०७८ असार २३ मा सकिनुपर्ने आयोजनाको काम त्यसको चार वर्षपछि बल्ल पूरा हुने चरणमा पुगेको हो।
आयोजना प्रमुख चौधरीले स्थानीयको अवरोधका साथै बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा काम गर्नुपरेका कारण बढी समय लागेको बताए।
अधिकांश भूभाग निकुञ्ज क्षेत्र परेको हुँदा निकुञ्जको नियम अनुसार प्रक्रिया पूरा गरी १३ हजार बढी रूखहरू काट्न तीन वर्ष बढी समय लागेको उनले जानकारी दिए। त्यसका साथै बाँकेको वैजनाथ गाउँपालिका–१ गाँभर र वडा ४ को बानियाँभारका साथै सुर्खेतको सुब्बा कुनाका स्थानीयबाट जग्गा भोगाधिकार तथा रूख कटानको विषयमा पटक/पटक अवरोध सिर्जना हुँदा काम गर्न ढिलाइ हुन पुगेको चौधरीले बताए।
‘ती ठाउँका स्थानीयलाई झन्डै सोह्र करोड जति मुआब्जा बापतको क्षतिपूर्ति दिनु परेको थियो,’ आयोजना प्रमुख चौधरीले भने, ‘स्थानीयको अवरोध, निकुञ्ज क्षेत्रको काम र अप्ठ्यारो भूगोलका कारण काम पूरा गर्न बढी समय लाग्न पुगेको हो।’
स्थानीयले जिल्ला हुँदै सर्वोच्च अदालतसम्म मुद्दा लिएर पुगेपछि भने अनुरूप समयमै काम गर्न नपाइएको उनले बताए।
सर्वोच्च अदालत समेतले १३२ केभी प्रसारण लाइन विस्तारको काम रोक्न नमिल्ने भन्दै त्यो समस्या व्यावहारिक पक्षलाई हेरेर आयोजना अघि बढाउन आदेश गरेपछि मुआब्जा दिँदै काम अघि बढाउनु परेको थियो।
काममा केही ढिलाइ हुन पुगेपछि कर्णालीलाई थप उज्यालो बनाउने अभियानसहित बहुप्रतिक्षित विद्युत विस्तारको काम अन्तिम चरणमा पुग्नु सबैका लागि स्वागत योग्य र खुसीको कुरा भएको आयोजना प्रमुख चौधरीले बताए।