झन्डै चार दशक पुरानो ३३ केभीको विद्युत लाइन विस्थापित गर्दै हालसालै कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ।
योसँगै अब कर्णालीमा पनि विद्युतबाट संचालन हुने ठूला उद्योगहरु खोल्न मार्ग प्रशस्त भएको छ। कमजोर विद्युत प्रसारण लाइनकै कारण हालसम्म कर्णालीमा विद्युतबाट चल्ने एउटा पनि ठूला उद्योगहरु स्थापना हुन सकेको थिएन।
कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण आयोजना कार्यालय सुर्खेतका प्रमुख रविकुमार चौधरीले प्रसारण लाइन सञ्चालनमा आएसँगै अब कर्णाली प्रदेशमा पनि विद्युतबाट चल्ने ठूला उद्योग सहजै खोल्न सकिने बाटो खुलेको बताए।
‘अब कर्णालीमा सिमेन्ट उद्योग पनि खोल्न मिल्छ,’ चौधरीले भने, ‘एउटा सिमेन्ट उद्योगलाई ३० मेगावट जति विद्युत चाहिन्छ त्यो अब कर्णालीमा प्रशस्त उपलब्ध हुन्छ,' उनले भने।
अब अन्य विभिन्न प्रकारका साना– ठूला उद्योगहरु पनि स्थापना गरी संचालनमा ल्याउन सकिने चौधरीले बताए।
‘हालसम्म कर्णालीमा उपलब्ध कमजोर विद्युत क्षमताका कारण एउटा पनि ठूला उद्योग स्थापना हुन सकेका थिएनन्,’ प्रमुख चौधरीले भने, ‘अब कर्णालीमा पनि ठूला उद्योगहरु स्थापना गर्ने मार्ग प्रशस्त भएको छ त्यसले कर्णालीको विकासमा टेवा पुग्ने छ।’
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत आइतबार यहाँ आएर प्रसारण लाइन सञ्चालन सुरु गरेका थिए।
शाक्यले १३२ केभी प्रशारण लाइन सञ्चालनमा आएसँगै कर्णालीमा पनि ठूला उद्योगहरु स्थापनाको ढोका खुलेको बताएका थिए।
कर्णालीमा पहिलो पटक १३२ केभी प्रसारण लाइन संचालनमा आएको भन्दै कार्यकारी निर्देशक शाक्यले उपभोक्ताले पहिलेजस्तो छिनछिनमा बत्ति जाने तथा 'लो भोल्टेज'को समस्या नहुने बताएका थिए ।
‘कर्णालीवासीले अबदेखि गुणस्तरीय विद्युत उपभोग गर्न पाउने छन। विद्युतको भरपुर सदुपयोग गर्दै कर्णालीको विकास र औद्योगिकरणमा उपयोग गर्न आग्रह गर्छु,’ त्यस दिन उनले भनेका थिए।
गत शनिबार प्रसारण लाइनमा विद्युत जोडेर परीक्षण गरिएको थियो।
'यसलाई कर्णालीको समृद्धिमा ठूलो ब्रेक-थ्रु मान्नुपर्छ,' विद्युत प्रसारण आयोजना कार्यालय सुर्खेतका प्रमुख चौधरीले भने।
अब दैलेखको जलविद्युत आयोजनाको बिजुली पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि मार्गप्रशस्त भएको छ।
कोहलपुर – सुर्खेत बीचको ५३ किलोमिटर दुरीमा १३२ केभी विद्युत प्रसारण लाइन विस्तारका लागि १६२ वटा टावरहरु निर्माण गरिएका छन्।
कोहलपुर – सुर्खेतबीच ५३ किलोमिटर दुरीमा विद्युत प्रसारणको काम गर्नु पर्दा केही घुमारो बाटो लैजानु परेकाले ५५ किलोमिटर पुगेको चौधरीले बताए ।
कोहलपुर – सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन विस्तार कार्य पूरा भई विद्युत संचालनमा आए संगै अब एक डेढ वर्षभित्र सुर्खेत– दैलेखमा त्यसैगरी विद्युत लाइन स्तरोन्नति तथा विस्तार गरिने आयोजना प्रमुख चौधरीले बताए।
त्यसपछि दैलेख – जुम्मा सोही किसिमले प्रसारण लाइन विस्तार गर्ने योजना रहेको छ।
१३२ केभी प्रशारण लाइन सुर्खेत बाट संचालनमा आए संगै पहिले जस्तो प्राविधिक चुहावट नहुने, लो–भोल्टेजको समस्या हट्ने, छिन छिनमै बत्ति नजाने, सानो हावा हुरी चल्दापनि (ट्रिपिङ) बत्ती गइ रहने समस्या समाधान हुने आशा गरिएको छ ।
यो आयोजना निर्धारित समयभन्दा झन्डै चार बर्ष ढिलागरी पूरा भएको हो।
विश्व्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारी र त्यसवाट सिर्जित लकडाउन, बाँके, बर्दिया राष्ट्रिय निकुञ्जमा काम गर्दा निकुञ्जको नियम, १३ हजार बढी रुख कटान, अफ्ठ्यारो भूगोलका साथै जग्गा प्राप्तिका लागि भएको ढिलाइ जस्ता कारणहरुले आयोजना समयमै पुरा गर्न सम्भव नभएको प्रमुख चौधरीले बताए।
बाँकेको बैजनाथ गाउँपालिका अन्तरगतका गाभर, बानियाभारका स्थानीयले जग्गाको मुआब्जा सम्बन्धि कुरा उठाउँदै विद्युत विस्तार कार्यमा अवरोध मात्रै सिर्जना गरेका थिएनन्। अदालतमा नै मुद्दा दायर गरेका थिए। सर्वोच्च अदालतले राष्ट्रिय आयोजनाको काममा अवरोध सिर्जना गर्न नपाइने भन्दै तोकिएको मुआब्जा बुझेर काम गर्न दिने आशयको फैलसापछि निर्माण कम्पनीले काम गर्ने वातावरण बनेको थियो।
नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा भारतीय निर्माण कम्पनी आरएस इन्फ्रा प्रोजेक्टले टेन्डरमा विद्युत विस्तारको काम गरेको थियो।
उक्त भारतीय निर्माण कम्पनीले टेन्डरमार्फत आयोजनाको काम गर्ने गरी २०७६ असार २२ मा सम्झौता गरेको थियो।
कुल ६५ करोड रुपैयाँ लागतमा दुई वर्षपछि अर्थात २०७८ असार २३ मा आयोजनाको काम सक्नुपर्ने संझौता रहे पनि त्यो भन्दा चार वर्षपछि काम पूरा भएको हो।
निर्वाचन आचारसंहिताका कारण यो आयोजनाको उद्घाटन भने फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनपछि मात्रै गरिने भएको छ ।
यसअघि ३७ वर्ष पहिले २०४५ सालमा बाँकेको कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरसम्म पहिलो पटक ३३ केभी लाइन विस्तार गरिएको थियो।