हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट प्रणालीमा भएको भनिएको अनधिकृत प्रवेशमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ।
कम्पनीले विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे भइरहेको अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
वेबसाइट प्रणालीमा अनधिकृत प्रवेश भएको विषयमा स्पष्ट किटान हुन नसकेको उल्लेख गर्दै कम्पनीले आफ्नो संलग्नता नरहेको दाबी गरेको हो।
कम्पनीका अनुसार सडक डिभिजन चरिकोटले प्रकाशित गरेको सूचनाअन्तर्गत सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गको कोदारी पहिरो क्षेत्रमा सडक छेउको भिरालो भागमा विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका संरचना निर्माण गर्ने ठेक्कामा ३एचसी–टिएसएन जोइन्ट भेन्चरमार्फत बोलपत्र पेस गरिएको थियो।
उक्त बोलपत्रसम्बन्धी सम्पूर्ण काम गर्न टीएसएनका अध्यक्षलाई अख्तियारी प्रदान गरिएको कम्पनीले जनाएको छ।
तर, नेपाल सरकारले चीन सरकारको सहयोगमा उक्त काम गर्ने प्रतिबद्धता जनाएपछि बोलपत्र रद्द भइसकेको विज्ञप्तिमा उल्लेख छ।
कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई यसअघि नै पत्राचार गरी वेबसाइट प्रणालीमा कमजोरी वा त्रुटि हुन नदिन ध्यानाकर्षण गराएको पनि जनाएको छ।
यसैबीच, कम्पनीका अध्यक्ष किरण मल्लले नियमित कामकाज गरिरहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार २०८३ असोज २० गते काठमाडौं जिल्ला अदालतबाट आदेश भएपछि अध्यक्ष मल्लले नियमित कामकाज गरिरहेको कम्पनीले उल्लेख गरेको छ।
कम्पनीले आफ्ना सबै व्यवसाय सामान्य रूपमा सञ्चालन भइरहेको जनाउँदै कुनै भ्रममा नपर्न सरोकारवालालाई आग्रह गरेको छ।