ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले सरकारले विद्युत खरिद गर्ने बताएका छन् । नेपाल विद्युत प्रधिकरणको ३४ औं वार्षिकोत्साबमा बोल्दै मन्त्री पुनले जति विद्युत उत्पादन भएपनि सरकारले त्यसको खरिदको जिम्मा लिने दाबी गरे ।
‘कहिलेकाही निजी क्षेत्रले विद्युत उत्पादन गरेर त्यो कसले खरिद गर्छ भन्ने चर्चा सुनिन्छ,’ मन्त्री पुनले भने, ‘तपाई जति विद्युत उत्पादन गर्नुस हामी खरिद गर्छौ, हामी खेरा जान दिदैनौ । सकेसम्म हामी त्यसलाई देशभित्रै खपत गर्ने वातावरण मिलाउछौ नत्र विदेशमा बेच्न बजार खोज्छौं ।’
उनले भारत तथा वंगलादेश वा क्षेत्रीयस्तरका देशसँग विद्युत व्यापार गर्न सरकार तयार भएको र त्यसको तयारीमा लागेको दाबी गरे ।
‘पहिले हामीले धेरै उत्पादन गर्नुप¥यो, त्यसपछि हामी विद्युत बार्गेनिङ गरेर बेच्न सक्छौ,’ मन्त्री पुनले भने ।
उनले निजी क्षेत्रले पनि नेपाल सरकारका प्रतिनिधी भएर विद्युत व्यापरको लागि बजार खोज्ने प्रस्ताव आएको उल्लेख गर्दै बजार खोज्ने सबैभन्दा पहिलो दायित्व सरकार र विद्युत प्रधिकरणको भएकोले त्यसमा सरकारले लागेको दाबी गरे ।
उनले नेपाल विद्युत प्राधिकरणलाई सरकारी संस्थानहरुमध्ये एक नम्बरको बनाउनको समेत बताए । उनले चालु आर्थिक वर्षमा प्राधिकरणलाई साढे ८ अर्ब रुपैयाँभन्दा बढी नाफामा लैजाने पनि घोषणा गरे । गत आर्थिक वर्षमा प्रधिकरणले ७ अर्ब २० करोड नाफा गरेको थियो ।
‘कार्यकारी निर्देशकको व्यवस्थापकीय क्षमता, कर्मचारीको मेहनत, राजनीतिक नेतृत्वको निरन्तरको सहयोग लगायतले प्राधिकरण इतिहासकै उत्कृष्ठ बन्न सफल भएको छ’, प्राधिकरण संचालक समितिका अध्यक्षसमेत रहेका पुनले भने ‘अधिकांश संस्थाहरु घाटामा चलिरहंदा प्राधिकरण खुद नाफा कमाउने अवस्थामा पुगेको छ, अव यसलाई एक नम्बर संस्थान बनाउने छौं ।’
तीन वर्षअघि ८ अर्ब ८९ करोड रुपैयाँ खुद घाटामा रहेको प्राधिकरणले त्यसपछि निरन्तर नाफा कमाउँदै आएको छ । आर्थिक वर्ष (आव) २०७५/७६मा प्राधिकरण ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संचित नोक्सानी करिब १५ अर्बमा झरेको छ ।
मिटर नदिने, ट्रान्सफर्मर परिवर्तन नगर्ने जस्ता ग्राहकसँग प्रत्यक्ष जोडिएका विषयमा गुनासो आउने गरेको बताउँदै मन्त्री पुनले सेवा सुधार गरी ग्राहकमैत्री बन्न कर्मचारीलाई निर्देशन दिए । ‘उत्पादन, प्रसारण र वितरणको लागत घटाउने, प्रशासनिक खर्चलाई नियन्त्रण गर्ने जस्ता क्रियाकलापबाट लागतलाई कम गराई उपभोक्तालाई सस्तो विजुली दिनु पर्छ’,उनले भने, ‘विगतमा उज्यालो दिन जुनौतिपूर्ण थियो अब भरपर्दो र गुणस्तीय सेवा दिनु पर्ने चुनौती छ ।’