नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले बुधबार (आज) बाट मास्क विक्री सुरू गरेका छन्। बुधबार मल्होत्राले स्वास्थ्य सेवा विभागलाई पचास हजार थान मास्क विक्री गरेका हुन्।
त्यसका साथै केही निजी अस्पतालहरूमा पनि वितरण गरिएको मल्होत्राले जानकारी दिए। उद्योगी मल्होत्राले मास्क उत्पादनका लागि आइतबार भारतबाट मेसिन तथा आवश्यक कच्चा पदार्थ ल्याएका थिए।
मल्होत्राले १ सेट मेसिन ल्याएर मास्क उत्पादन सुरू गरेका छन्। उक्त मेसिनको उत्पादन क्षमता हप्तामा ५ लाख पिस रहेको छ। जसबाट दैनिक ७० हजार मास्क उत्पादन हुन्छ।
अहिले फ्याक्ट्री नै सञ्चालन गरेर मास्क उत्पादन गर्न असम्भव भएकाले उनले गार्मेन्ट उत्पादन गर्ने गोथेरा इन्डष्ट्रिजबाट मास्क उत्पादन गरेका छन्।
‘फ्याक्ट्री सञ्चालन गर्न जग्गा चाहियो, जनशक्ति चाहियो। त्यो अहिले तत्काल सम्भव नभएकाले त्यहाँ मेसिन राखेर उत्पादन गरिएको छ,’ मल्होत्राले भने।
यसबाहेक पनि चेम्बर अफ कमर्शले निम्बसलाई दैनिक १५ हजार पिस मास्क उत्पादन गर्न लगाएको छ। उक्त मास्क भने औषधि व्यवसायीलाई लागत मूल्यमै बेच्ने गरेको उनले जानकारी दिए।