राजधानीको व्यस्त सडकमध्ये त्रिपुरेश्वरमा पनि ट्राफिक लाइट मार्फत ट्राफिक व्यवस्थापन सुरु गरिएको छ।
मंगलबार रोटरी क्लव अफ त्रिपुरेश्वरका अध्यक्ष भुवन श्रेष्ठले त्रिपुरेश्वरमा जडान गरिएको नयाँ ट्राफिक लाईट महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई हस्तान्तरण गरेका हुन्।
रोटरी क्लव अफ त्रिपुरेश्वरले काठमाडौं महानगरपालिकासगँ समन्वय गरी नयाँ ट्राफिक लाइट जडान गरेको हो।
पछिल्लो समय महाशाखाले उपत्यकाका विभिन्न निकायहरूको समन्वयमा ट्राफिक लाइट जडान कार्यलाई तिव्रता दिइरहेको छ।
एकान्तकुना, कुपण्डोल, झम्सिखेल, हनुमानस्थान, मैतीदेवी, सोह्रखुट्टे, सितापाईला, बौद्ध, ग्रान्डी लगायतका ११ स्थानमा ट्राफिक लाइट जडानका लागि स्थानीय निकाय, सडक विभाग लगायत अन्य संघ संस्थासँगको समन्वयमा काम भैरहेको महाशाखाले जनाएको छ।
त्यस्तै विभिन्न निकायसँग समन्वय गरी विगत ९ वर्षदेखि बिग्रेर रहेका सिंहदरबार, पद्मोदय (सभागृह जाने मोड), पद्मोदय (अनामनगर जाने मोड), पुतलीसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, परोपकार, टंकेश्वर, नयाँ ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, महापाल, पुल्चोक, हरिहरभवन, अल्का अस्पताल अगाडि, कमलपोखरी ल्होत्से चोक र हाडीगाउँ (भाटभटेनी अगाडि) लगायत क्षेत्रका ट्राफिक लाइट सञ्चालनमा पनि ल्याइसकेको महाशाखाले जनाएको छ।
यसरी नै ट्राफिक प्रहरीसँग सबै मिलेर लागि पर्ने हो भने उपत्यकाको ट्राफिक व्यवस्था सहज बन्न लामो समय नलाग्न ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले बताए।
काठमाडौं उपत्यकामा भइरहेको जाम, सवारी दुर्घटना तथा ट्राफिक समस्या समाधानको महाशाखाले प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइदै आएको ढकालले बताए।