सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्र सडक सञ्जालसँग जोडिएको छ।
सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका र माप्य दुधकोशी गाउँपालिकाको सिमानामा पर्ने दुधकोशीको अर्लाङघाटमा पुल निर्माण भएपछि सोलुखुम्बु जिल्लाको माथिल्लो क्षेत्र खुम्बु सडक सञ्जालसँग जोडिएको हो।
अब खुम्बु क्षेत्रमा दैनिक उपभोग्य सामग्री र पर्यटकलाई लाग्ने भ्रमण खर्च पनि सस्तो हुने स्थानीय आङफुर्वा बताउँछन्।
‘रोड नहुँदा खाद्यान्न, नुन, तेल लगायत सामग्री हेलिकप्टर र प्लेनबाट ओसार्दा महँगो हुन्थ्यो। गाडीले ढुवानी गरेपछि त सस्तो हुन्छ,’ उनले भने।
हवाई र पैदलयात्राबाट मात्र पुग्न सकिने खुम्बु क्षेत्र सडकसँग जोडिएपछि विदेशी मात्र नभई आन्तरिक पर्यटकको संख्यामा पनि वृद्धि हुने स्थानीय गोम्बु शेर्पाको विश्वास छ।
‘यसअघि सडक सञ्जाल नहुँदा लुक्ला र स्याङ्बोचे विमानस्थलको मौसम खराब हुँदा, हिउँ पर्दा हप्तौंसम्म पर्यटकहरु फर्किन सक्दैन थिए। खुम्बु क्षेत्र सडक सञ्जालसँग जोडिएपछि मौसम सफा हुने प्रतीक्षामा पर्यटकले लामो समय कुर्नुपर्ने समयको अन्त भएको छ,’ उनले भने।
खुम्बु क्षेत्र सञ्जालसँग जोडिएपछि विश्वकै चर्चित पर्यटकीय गन्तव्य सगरमाथा प्रवेश सहज भएको बताउँछिन्, खुम्बु पासाङल्हामु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष टासी ल्हामु शेर्पा।
‘खुम्बु क्षेत्र आउन लुक्ला, फाप्लुसम्म महँगो भाडा तिरेर जहाज चढ्नु पर्थ्याे। हवाई यात्रा सम्भावना भएमा सल्लेरीसम्म गाडी र त्यसपछि पैदल यात्रा गर्नु पर्थ्याे। अब भने गाडी चढेरै खुम्बु क्षेत्र पुग्न सकिने भएपछि विदेशी मात्र नभइ आन्तरिक पर्यटकको संख्या पनि बढ्नेछन्,’ उनले भनिन्।
सडकमार्ग हुँदै काठमाडौंबाट बिपी राजमार्गबाट ओखलढुंगा, सल्लेरी हुँदै दुधकोशी किनार पुग्न सकिन्छ। सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट ३८ किलोमिटर सडक यात्रापार गरेपछि ओर्लाङघाट पुगिन्छ।
आर्लाङघाटबाट २५ किलोमिटर सडकपार गरेपछि थामडाँडा पुगेर त्यहाँबाट ५ घण्टाको पैदलयात्रा तय गरेपछि लुक्ला पुग्न सकिन्छ।
सडक सञ्जालले खुम्बु क्षेत्र मात्र नभई सोलुका सेलिगुढी, खास्ताप, काँकु, राप्छा, ठूलिढुंगा, ओर्लाङघाट अँधेरी, जुभिङ, खरीखोला, बुप्सालगायतका एक दर्जन बस्तीलाई पनि सडक सञ्जालसँग जोडेको दुधकोसी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले बताए।
७ करोड २९ लाख लागतमा निर्माण भएको पुलका लागि सांसद निर्वाचन क्षेत्र विकास कोषबाट १ करोड, प्रदेश सरकारबाट २ करोड र बाँकी बजेट माप्य दुधकोसी र खुम्बु पासाङ ल्हामु गाउँपालिकाले लगानी गरेका हुन्।