नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण बिग्रन नदिन सबै सरोकारवालालाई गम्भीर हुन आग्रह गरेका छन्।
भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका एनसेल, चौधरी ग्रुपको सीजी पार्क र चन्द्रागिरि हिल्सको निरीक्षण गर्दै उनले यस्ता घटनाले लगानीको वातावरणमा नकारात्मक असर पर्ने बताए।
ढकालले जेएनजी आन्दोलनका क्रममा भएको घुसपैठले देशैभरिका निजी क्षेत्रका ठूला, मझौला र साना उद्योग तथा व्यक्तिको सम्पत्तिमा क्षति पुगेको र यसले उत्पादन र रोजगारीमा असर गरेको बताए।
उनले नेपालमा विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्नका लागि यस्ता घटनाले दीर्घकालीन असर पार्ने बताए।
उनले भने, ‘नेपालमा लगानीको वातावरण बिग्रने अवस्था आएको छ। यस्ता घटनाले देशको आर्थिक विकासमा गम्भीर असर पार्छ। सरकार, राजनीतिक दल र सबै सरोकारवालालाई लगानीमैत्री वातावरण कायम गर्न आग्रह गर्छु।’
अध्यक्ष ढकालले वैदेशिक लगानी भित्र्याउन र आन्तरिक लगानी प्रवर्द्धन गर्न महासंघले निरन्तर पहल गरिरहेको भए पनि यस्ता घटनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा नकारात्मक सन्देश जाने धारणा राखे।
नेपालको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रले दिएको अवस्थामा लगानीको संरक्षणका लागि व्यवसायीहरूको शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने उनले बताए।
उनले यो घटनाले सरकारको राजस्व समेत गुम्ने अवस्था आएको बताए।
महासंघका अध्यक्ष ढकालसहित उपाध्यक्ष हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य र केन्द्रीय सदस्यहरू शैलेन्द्र गुरागाईं, डा.रामशरण थपलिया, पशुपतिदेव पाण्डे र कमला श्रेष्ठ लगायतले क्षतिग्रस्त संरचनाहरूको निरीक्षण गरी क्षतिको जानकारी लिएका थिए।
यसअघि, महासंघले अर्थमन्त्री र गृहमन्त्रीसँग भेट गरी निजी क्षेत्रले अझै पनि शान्ति सुरक्षाको अनुभूति गर्न नसकेकोले यसको प्रत्याभूति दिन, आन्दोलनका क्रममा निजी क्षेत्रको सम्पत्तिमाथि भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको थियो।