नेपाल आयल निगमले सार्वजनिक बिदामा पनि सेवा दिने बताएको छ।
पेट्रोलियम पदार्थ अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकाले आइतबार र सोमबार पनि सेवा बन्द नहुने निगमका कार्यकारी निर्देशक चन्डिका प्रसाद भट्टले जानकारी दिए।
‘सार्वजनिक बिदा भएपनि हाम्रो सेवा बन्द हुँदैन,’ उनले भने, ‘सबै कार्यालयबाट सेवा दिन्छौं।’
पेट्रोलियम पदार्थ पाइपलाइन मार्फत आउने भएकाले बाढी पहिरोले ढुवानीमा असर नपरेको उनको भनाइ छ।
‘हामीलाई ल्याउन केही समस्या छैन। काठमाडौंमा ल्याउन चै ट्यांकरबाट ढुवानी गर्नु परेकाले अलि समस्या भएको छ। त्यो बिस्तारै समाधान हुँदैछ,’ उनले भने।
उनका अनुसार हाल निगमसग ४/५ दिनलाई पुग्ने पेट्रोल र १० दिनलाई डिजेल मौज्दात छ।
सरकारले अबिरल बर्षाका कारण आइतबार र सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ।