ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले देशमा उपलब्ध प्राकृतिक स्रोत–साधनको उचित उपयोग नहुँदा आर्थिक विकास अवरूद्ध भइरहेको बताएका छन्।
राष्ट्रिय युवा परिषद्ले बुधबार आयोजना गरेको कार्यक्रममा उनले वन जंगलबारे बनाइएका कडा कानूनका कारण देशले ठूलो आर्थिक सम्भावना गुमाइरहेको बताए।
उनकाअनुसार वन क्षेत्रलाई ‘इकोलोजी संरक्षण’ को नाममा प्रयोग गर्न नदिँदा राज्यले ठूलो मात्रामा आयातमा निर्भरता बढाउनुपरेको छ। चीन र मलेसिया जस्ता देशबाट ४ खर्ब बराबरका काठका उत्पादनहरू नेपाल आयात गर्नुपरेको उनले बताए। तर आफ्नै वनमा रहेको कच्चा पदार्थ भने कुहाएर फाल्नुपरेको उनको भनाइ छ। वन व्यवस्थापनका वर्तमान कानून अत्यधिक प्रतिबन्धात्मक भएको भन्दै उनले पाँच वर्षमा एउटा रूख काट्न समेत कठिन हुने बताए। वनको एउटा रूख काट्नु र मान्छे काट्नुमध्ये रूख काट्नु धेरै गाह्रो रहेको उनको टिप्पणी छ। यस्ता ऐन–कानूनका कारण देश विकास नहुने भन्दै उनले सबै कुरा परिवर्तन गर्न आवश्यक रहेको बताए।
उनले भने, ‘हामीसँग रिसोर्स के छैन, हाइड्रोको त कुरै छाड्दिनुस्। तपाईं रिसोर्स जति बन्द गरेर राख्ने, वनको कुरा गर्नुस् त कति ठूलो रिसोर्स छ। वनलाई कुहाएर सिनोलाई खुवाएर इकोलोजी बढाउनेको नाममा रिसोर्स जति कुहाएर राखेको छ। चाइना र मलेसियाबाट ३/४ खरबको हामी काठको प्रोडक्टहरू आयात गर्छौं। वनलाई कुहाएर, त्यसलाई उत्पादन गरेर कसरीलाई देशको इकोनोमीमा कसरी कन्भर्ट गर्ने भन्ने कुरै छैन। आज एउटा वन काट्नु र मान्छे काट्नुमा वन काट्नुलाई धेरै गाह्रो भएको छ। पाँच वर्षमा एउटा रूख काट्न गाह्रो छ। यस्ता ऐन कानून राखेर देश विकास हुँदैन। सबै कुरा चेन्ज गर्नुपर्छ।’
उनले अगाडि भने, ‘आगामी दिनमा नयाँ लिडरसिपले यो सबै कुरा चेन्ज गर्छ, गर्नुपर्छ। यसलाई देश विकासमा लगाउनुपर्यो नि। सबै पैसा नै पैसा छ। तपाईं फूलबारी बोर्डरमा जानुस्। बंगलादेशले भुटानबाट ढुंगा र माटो ५०० ट्रक दिनको आयात गर्छ। हामी यहाँ ढुंगा माटो निकाल्न नै हुँदैन भनेर बसिरहेका छौं। वातावरणलाई पनि हेरेर ढुंगा माटो मात्रै पनि बेच्नसक्यो भने कति राजमार्गमा ढुंगामाटोको आवश्यक छ, पैसा नै पैसा छ, यहाँ। रिसोर्स नै रिसोर्स छ। यो प्राकृतिक रिसोर्सको त कुरै छाड्दिनुस्। सबभन्दा ठूलो कुरा हामीसँग ह्युमान रिसोर्स छ।’
उनले आगामी दिनमा नयाँ नेतृत्वले यस्ता नीतिगत अवरोध हटाई स्रोत–साधनको दिगो उपयोगतर्फ ध्यान दिनुपर्ने बताए। —न्युज एजेन्सी नेपाल