‘पोखराको नवयुग’ शीर्षकको पत्रकार सम्मेलनमार्फत इन्नोभेट नेपाल (आइएनजी) ग्रुपले फिष्टेल माउण्टेन कलेजमार्फत पोखरामै विश्वस्तरको सूचना प्रविधि शिक्षाको औपचारिक सुरुआत गरेको घोषणा गरेको छ।
समारोहमा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले प्रतिभा विकास, शिक्षा–उद्योग सहकार्य, स्टार्टअप र टेक उद्यमशीलतामा समूहले पुर्याउँदै आएको योगदानबारे जानकारी दिए।
कार्यक्रममा आइएनजीको साइबर सुरक्षा टोलीले पेरिस ओलम्पिक्सका लागि साइबर सुरक्षा सेवामा गरेको सहभागिता लगायत अन्तर्राष्ट्रिय परियोजना तथा रोजगारी सिर्जनामा भएका उपलब्धिहरू सार्वजनिक गरियो।
सो अवसरमा नेपाली एआई इन्जिनियर तथा डेभलपरलाई अन्तर्राष्ट्रिय परियोजनामा प्रत्यक्ष संलग्न गराउने दीर्घकालीन कार्यक्रम र साइबर सुरक्षा सेवामा केन्द्रित नयाँ कम्पनी स्थापना गर्ने घोषणा पनि गरियो।
फिष्टेल माउण्टेन कलेजको नयाँ लोगो सार्वजनिक गर्दै संस्थाले पोखरामै उद्योग–अनुसन्धानमा आधारित शिक्षा, अत्याधुनिक पाठ्यक्रम र विश्वस्तरका टेक नेतृत्वकर्ता उत्पादन गर्ने लक्ष्य प्रस्तुत गर्यो।
आइएनजीले एक वर्षभित्र पोखरामा कम्तीमा एक प्रविधि कम्पनी स्थापना गर्ने प्रतिबद्धता जनाएको छ, जसले विद्यार्थीलाई अध्ययनसँगै रोजगारी र वास्तविक परियोजनामा काम गर्ने अवसर उपलब्ध गराउनेछ।
कार्यक्रममा फिष्टेल माउण्टेन कलेजको शैक्षिक मोडेल, अन्तर्राष्ट्रिय मान्यता तथा विद्यार्थीलाई प्राप्त हुने अवसरबारे थप जानकारी पनि प्रस्तुत गरिएको थियो।