नेपाल र अमेरिकाबीच प्रविधिका क्षेत्रमा साझेदारी बढाउने उद्देश्यले अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) ले ‘स्केलिङ इन्नोभेसन्स’ संवाद आयोजना गरेको छ।
एमच्याम नेपालको १९ औं लर्निङ सिरिजअन्तर्गत सदस्य कम्पनी एडेक्स टेकबेमा प्रविधिको इकोसिस्टमलाई व्यावसायिक प्लेटफर्महरूसँग जोड्ने उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गरेको हो।
त्यस अवसरमा विज्ञहरूले ‘स्केलिङ एथिकल एन्ड इनोभेटिभ एआई एडप्सन इन ग्लोबल मार्केट्स’ विषयमा धारणा प्रस्तुत गर्दै दुवै देशका नवप्रवर्तकहरूले सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।
एमच्याम नेपाल र आद्यन्ता एड्भाइजरीको सहकार्यमा आयोजित कार्यक्रममा एडेक्स–टेकवेका सह–संस्थापक वैभव खड्काले एआईको प्रयोगले प्रविधिको उद्योगमा ल्याउन सक्ने रूपान्तरणबारे प्रस्तुति दिएका थिए।
उनले विश्व बजार तीव्र रूपमा एआई–केन्द्रित बन्दै गइरहेको उल्लेख गर्दै चुनौतीसँगै अवसरलाई उपयोग गर्न सके नेपाललाई नैतिक र नवप्रवर्तनशील एआई हबका रूपमा स्थापित गर्न सकिने धारणा राखे।
नेपालस्थित अमेरिकी दूतावासका पब्लिक अफेयर्स चिफ माइक हार्करले एआई नवप्रवर्तन नेपाल–अमेरिका टेक साझेदारी मजबुत बनाउन महत्वपूर्ण आधार भएको बताए।
आद्यन्ता एड्भाइजरीकी प्रबन्ध निर्देशक स्तुति बस्न्यातले अमेरिकी प्लेटफर्म, लगानी च्यानल र अन्तर्राष्ट्रिय अवसरहरूसँग नेपाली संस्थापकहरूलाई जोड्ने लक्ष्यसहित प्लेटफर्म निर्माण गरिएको बताइन्।
संवादका क्रममा वक्ताहरूले विश्व बजारमा एआई प्रतिस्पर्धा तीव्र बन्दै गएपछि नेपालले पनि एआईसँग सम्बन्धित सीप विकास र उद्योग विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए।
नेपाललाई ‘टेक र एआई हब’ को रूपमा ब्रान्डिङ गर्दै स्टार्टअप तथा स्केल–अप कम्पनीहरूको पुँजी विस्तारका लागि आवश्यक कदम चालिनुपर्नेमा उनीहरूको जोड थियो।
सहभागीहरूले नेपाल अमेरिकाका लागि ‘बुटिक ट्यालेन्ट हब’ बन्न सक्ने सम्भावनाबारे पनि छलफल गरेका थिए।
एमच्याम नेपालका कार्यकारी निर्देशक अमिर आर थापाले मेम्बर लर्निङ सिरिजमार्फत आयोजित कार्यक्रमहरूले नेपाल–अमेरिका वाणिज्यिक सहकार्यलाई प्रत्यक्ष रूपमा बढाएको बताए।
उनका अनुसार, यस्ता पहलहरूले दुवै देशबीच साझा आर्थिक समृद्धि निर्माण गर्ने आधार तयार गर्नेछन्।
नेपाली युवाद्वारा स्थापना गरिएको क्लाउड कन्सल्टिङ तथा टेक कम्पनी एडेक्स इन्टरनेशनल २०२२ देखि पूर्ण रूपमा सञ्चालनमा आएको हो।