सेलिब्रेटी सेफ सन्तोष साहले नेपाली खानाको परिकारलाई विश्वमाझ चिनाउन आवश्यक रहेको बताएका छन्।
काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुल क्लबमा आयोजित किताब जात्रामा सेफ सन्तोष साहले नेपाली खाना विश्वमाझ नै खान योग्य रहेको बताएका हुन्।
किताब जात्राको ‘स्वाद, संस्कृति र स्मृति’ शीर्षकमा राखिएको विशेष संवादमा सेफ साहले कुनै पनि खानाको परिकार स्वादसँग मात्र नभई संस्कृतिसँग पनि जोडिएको बताएका छन्।
‘नेपाल विविध जातजाति र धर्मसंस्कृतिको देश भएकाले यहाँको खानाको पनि आआफ्नो संस्कृति र इतिहास रहेको छ,’ उनले भने।
साथै, नेपालमा मात्र नभई विश्वका विभिन्न देशमा सोही देश अनुसारकै खानाको विशेषता रहेको बताएका छन् ।
‘अत्यधिक विषादीयुक्त खानालाई कम गर्दै गुणस्तरीय खानामा ध्यान दिनुपर्छ। कुनै पनि ठाउँको खानाले नै त्यस ठाउँको विशेषता बोक्न सक्छ र त्यसकै लागि पनि विभिन्न ठाउँबाट मात्र नभई विदेशबाट पनि खानाको स्वाद चाख्न मानिसहरू आउँछन्,’ उनले भने।
किताब जात्राको संवादमा बोल्दै उनले खाना बाँच्नको लागि मात्र नभई प्लेजरको लागि पनि खान थालिएको उनले सुनाएका छन्। त्यसैले गर्दा पनि खानाको गुणस्तरलाई विशेष ध्यान दिन आवश्यक रहेको उनले बताए।
सेफ सन्तोष साह पछिल्लो लामो समयदेखि नेपाली खानालाई कसरी विश्वस्तरमा चिनाउने भन्ने अभियानमा लागेका छन्।
यसकै लागि पनि उनले छिट्टै एउटा टिभी कार्यक्रम पनि ल्याउन लागेको कुरा संवादमार्फत नै सुनाएका छन्।
उक्त शोमा नेपाली खानालाई कसरी इन्टरनेशनल होटलमा राख्ने र कसरी प्लेजरको माध्यम बनाउने भन्नेबारे सिकाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताएका छन्।
भर्खरै मात्र पनि सेफ सन्तोष साहले सञ्चालन गर्दै आएको मिथिला थालीले अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाइरहेको छ।
हालै नेसनल जियोग्राफिक म्यागजिनले जनकपुरधामको सांस्कृतिक पहिचान र पाककलालाई प्रतिनिधित्व गर्ने ‘मिथिला थाली’लाई आफ्नो विशेष रिपोर्टमा स्थान दिएको छ।
यसअघि पनि लोन्ली प्लानेट नामक अन्तर्राष्ट्रिय म्यागजिनमा जनकपुरधामलाई सांस्कृतिक, धार्मिक र खाद्य पर्यटनका लागि उदीयमान गन्तव्यको रूपमा सूचीवद्ध गरिएको थियो।
सेफ सन्तोष साहले ‘मिथिला थाली बाइ सन्तोष साह’ नामबाट, ललितपुरको झम्सीखेल, काठमाडौंको नक्साल र गौशालामा भेज मिथिला थाली सञ्चालन गरेका छन्।
यसका साथै सेफ सन्तोषले जनकुपुरको माछाको स्वाद चखाउनको लागि जनकपुर फिस हाउस भनेर पनि नक्सालमा सञ्चालन गरेका छन्।