क्यान महासंघले स्थानीय तह, सार्वजनिक संस्था र शैक्षिक संस्थालाई लक्षित गर्दै साइबर सुरक्षा क्षमता विकास कार्यक्रम सञ्चालन गरेको छ।
क्यान महासंघ जिल्ला शाखा सिन्धुलीले साइबर सुरक्षा क्षमता विकास तथा स्मार्ट बोर्ड ज्ञान साझेदारी सम्बन्धी कार्यक्रम गरेको हो।
डिजिटल सेवा र अनलाइन प्रणालीको प्रयोग बढ्दै जाँदा डाटा चुहावट, प्रणाली ह्याकिङ र साइबर अपराधका जोखिम बढिरहेका सन्दर्भमा डाटा सुरक्षा र संस्थागत सजगता लागि स्थानीय स्तरसम्म यस प्रकारको कार्यक्रम गरिएको हो।
कार्यक्रममार्फत् नेपालमा देखिएका साइबर अपराधका प्रवृत्ति, आक्रमणका तरिका र त्यसले व्यवसाय, स्थानीय सरकार तथा सार्वजनिक सेवामा पार्ने असरबारे व्यवहारिक जानकारी दिइएको महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले बताए।
उनका अनुसार कमजोर सुरक्षा अभ्यासका कारण सेवा अवरूद्ध हुने, आर्थिक क्षति हुने र संस्थागत विश्वसनीयता कमजोर बन्ने जोखिम उच्च रहेकाले यस विषयमा सरोकारवालाको ध्यानाकर्षण गराइएको हो।
साइबर सुरक्षामा प्रविधि मात्र पर्याप्त नहुने र प्रयोगकर्ता तथा कर्मचारीको सचेतना निर्णायक हुने विज्ञहरूको भनाइ छ।
सुरक्षित पासवर्ड प्रयोग, प्रणालीको नियमित अद्यावधिक, शंकास्पद गतिविधिप्रति सजगता र न्यूनतम सुरक्षा मापदण्ड नअपनाउँदा जोखिम बढ्ने विषयमा जानकारी गराइएको छ।
कार्यक्रममा पेनेट्रेशन परीक्षण, प्रणाली कमजोरी पहिचान र नेपाली संस्थाहरूले आफ्नै स्तरबाट लागू गर्न सक्ने व्यावहारिक साइबर सुरक्षा अभ्यासबारे जानकारी दिइएको थियो।
यसले स्थानीय तह र संस्थालाई आफ्नो डिजिटल पूर्वाधारको अवस्था बुझ्न र आवश्यक सुधारका कदम चाल्न सहयोग पुग्ने बताइएको छ। डिजिटल सेवा विस्तार भइरहेका बेला यस्ता कार्यक्रमले डाटा संरक्षणलाई प्राथमिकतामा राख्दै साइबर जोखिम न्यूनीकरणका लागि संस्थागत तयारी बलियो बनाउने आधार तयार गरेको उनीहरूको भनाइ छ।