नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले लोकतान्त्रिक विधि नमान्दा देशमा समस्या बारम्बार देखिने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा उनले भदौ २३ र २४ गते भएका घटनालाई छुट्टाछुट्टै रूपमा हेर्नुपर्ने भन्दै दुवै दिन कानुन मिच्नेहरूमाथि कारबाही हुनुपर्ने स्पष्ट पारे।
महतले भदौ २३ गते उठाइएका मागहरू ठिक भएको बताए। तर सरकारले त्यस दिन अत्यधिक बल प्रयोग गरेको स्वीकार गर्नुपर्ने उनको भनाइ छ।
'सरकार सुन्न सक्ने हुनुपर्छ,' उनले भने, 'तर २४ गते भएको विध्वंश पनि गलत हो।'
उनले २३ गते कानुन मिच्ने र २४ गते कानुन मिच्ने दुवैलाई कानुनी कठघरामा ल्याउनुपर्नेमा जोड दिए।
आफूलाई भगाउने व्यक्ति पक्राउ परे पनि लुटपाट गर्ने व्यक्ति भने नसमातिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
'मलाई भगाएको मानिस थुनियो, लुट्ने थुनिएन,' उनले भने, 'अदालतमा पठाएपछि बाहिर आएको हो।'
महतका अनुसार २३ र २४ गतेका घटनालाई एउटै रूपमा हेर्न मिल्दैन। उनले लोकतान्त्रिक विधि नअपनाउँदा समस्या निरन्तर दोहोरिने बताए।
देश निर्वाचनतर्फ गइसकेको उल्लेख गर्दै उनले नयाँ संसद्ले विगतका कमी–कमजोरीको समीक्षा गर्ने बताए।
भदौ २४ गतेको घटनाले देशलाई ठूलो आर्थिक क्षति पुगेको भन्दै अन्तर्राष्ट्रिय आकलनअनुसार करिब दुई वर्षको बजेट बराबर नोक्सानी भएको उनले दाबी गरे।
उनले त्यस घटनाले लगानीको वातावरण अत्यन्तै खराब बनेको बताए। विदेशी लगानी आउन नसकेको र स्वदेशी पुँजी पलायन तीव्र रूपमा भइरहेको उनको भनाइ छ।
'महत्वाकांक्षा धेरै छ, तर उपलब्धि पुगेको छैन,' उनले भने, 'रोजगारी हुँदाहुँदै पनि विदेश जाने प्रवृत्ति बढेको छ।'
महतले समाज सामाजिक सञ्जाल र भावनामा बग्नु अहिले विश्वव्यापी चुनौती बनेको बताए। सबै समस्याको समाधान कानुनभित्रै खोज्नुपर्नेमा जोड दिँदै उनले २३ र २४ दुबै दिनका दोषीलाई अनिवार्य रूपमा कारबाही गर्नुपर्ने बताए।
'कानुनी शासन सबैले पालना गर्नुपर्छ,' उनले भने, 'यसले मात्रै लगानीको वातावरण बन्छ। अहिले यत्तिकै छोडियो भने भोलि फेरि यस्तै हुनसक्छ, त्यसैले कानुनी दायरामा ल्याउनैपर्छ।'