नेकपा एमालेका नेता राजन भट्टराईले लगानीकर्तालाई सुरक्षित छु भन्ने विश्वास दिलाउन नसक्दासम्म मुलुकमा लगानीको वातावरण बन्न नसक्ने बताएका छन्।
उनले विगतका घटनाको परिवेशमा केवल प्रतिबद्धता जनाउँदैमा मात्र पुग्दैन, व्यवहारमै सुरक्षा सुनिश्चित हुनुपर्नेमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै भट्टराईले २०७२ सालको संविधान निर्माणका बेला निजी सम्पत्तिमाथि हस्तक्षेप हुनुहुँदैन भन्ने स्पष्ट भावना राखिएको स्मरण गराए। तर अहिले आएर त्यही भावनामाथि कुठाराघात भएको उनको टिप्पणी छ।
उनका अनुसार अन्तर्राष्ट्रिय जगतबाट पुँजी, प्रविधि र ज्ञान भित्र्याउन सुरक्षाको विश्वसनीय वातावरण आवश्यक छ।
'लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्ने अवस्था बनाउनु पर्छ,' उनले भने।
भट्टराईले देशमा अपेक्षित कानुनी सुधार हुन नसकेको भन्दै यथार्थमा अहिलेको अवस्था हिजोभन्दा खस्किएको बताए।
स्वार्थका लागि मात्र कुरा गर्दा सबै गैरजिम्मेवार बन्ने चेतावनी दिँदै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर सोच्नुपर्ने बताए।
'अब आ–आफ्नो स्वार्थभन्दा माथि उठेर एकीकृत धारणा बनाएर अघि बढ्न जरूरी छ,' उनले भने।