अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को ११ औँ वार्षिक बैठकमा सहभागी हुन शनिबार साँझ कतार प्रस्थान गरेका छन्।
मन्त्री वाग्ले कतार एयरवेजको नियमित उडानबाट साँझ ७ बजे दोहा प्रस्थान गरेका हुन्।
उनीसँग अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी छन्।
दोहामा हुने बैठकमा वाग्लेले एआइआइबीको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउनेछन्।
त्यहाँ नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण र आर्थिक वृद्धिका प्राथमिकताबारे छलफल गर्ने कार्यक्रम छ।
नेपालका प्राथमिकताका क्षेत्रमा बहुपक्षीय सहयोग तथा लगानी परिचालनका विषयमा पनि उनले छलफल गर्ने अर्थ मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा वाग्लेले एआइआइबीका अध्यक्षसँगै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नेछन्।
वार्षिक बैठक र द्विपक्षीय भेटवार्ता सकेर वाग्ले नेतृत्वको टोली असोज १४ गते बुधबार कतार एयरवेजकै उडानबाट नेपाल फर्किनेछ।