सरकारले दसैं,तिहार लगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने काम नगर्न सचेत गराइएको बताए।
शुक्रबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उनले मुलुकको कठिन अवस्थालाई ध्यानमा राखेर सरकारले तोकेको अधिकतम मूल्य भन्दा कम मूल्यमा हवाई टिकट बिक्री गरी यात्रुहरूलाई राहत दिन संवद्ध सबै पक्षलाई भनिएको जानकारी दिए।
हवाई टिकटको न्यूनतमदेखि अधिकतम सम्मको मूल्य कानूनमा नै व्यवस्था गरिएको छ। त्यसमा अधिकतम मूल्यभन्दा कम मूल्यमा सो टिकट बिक्री गर्न सेवा प्रदायक संस्थाहरूलाई भनिएको प्राधिकरणको भनाइ छ।
सूचना अधिकारी भुलले भने, ‘देशमा पनि अहिले यस्तो अवस्था भएको हुनाले वायुसेवा कम्पनीका साथीहरूलाई बोलाएर कम्तीमा म्याक्सिमम फेयर नबेच्नु होला, त्योभन्दा १/२ क्लास लोयर फेयरमा बेचिदिनुहोस् भनेर भनेका छौं। त्यही अनुसार हाम्रो बुद्ध एयर अरू वायु सेवा कम्पनीहरूले काम गरिरहेको छ। सपोज अहिले बुद्ध एयरले धनगढीमा १२ हजारभन्दा माथिको टिकट नबेच्ने भनेर उहाँहरूले निन्टरनल्ली नै तयारी गर्नु भएको छ। वायु सेवा कम्पनीले नियम भित्र भए पनि उहाँहरूलाई अपर फेयरको टप मोष्ट फेयर भन्दा एक लेवल तल्लो क्लासको टिकट उहाँहरूले बेचिराख्नु भएको छ। हो स्वाभाविक रूपमा यात्रुहरूले एकैचोटी ट्राभल गर्दाखेरी डिमान्ड बढी भएर लोअर फेयरको टिकट भन्दा हाइएर फेयरको टिकट सोल्ड अलि बढी छ।’
त्यसैगरी प्राधिकरणले चाडपर्वमा हवाई यात्रुहरूको सुविधालाई ध्यानमा राखेर अतिरिक्त उडानको व्यवस्था गरेको पनि जनाएको छ।
नेपालमा दैनिक १० हजार यात्रुहरूले आन्तरिक उडान गर्ने गरेको तथ्यांक छ।
प्राधिकरणका सूचना अधिकारी भुलले दसैंतिहारजस्तो समयमा त्यो संख्या बढेर दैनिक १८ हजारसम्म यात्रुहरू हुने गरेकाले अतिरिक्त उडानको पनि व्यवस्था गरिएको स्पष्ट पारे।—न्युज एजेन्सी नेपाल