राजधानी काठमाडौंको धुवाँ र कोलाहल छिचोल्दै दक्षिणतर्फ चोभार र टौदह पार गरेपछि पुगिन्छ फर्पिङ।
दक्षिणकाली नगरपालिकामा पर्ने यो ठाउँ इतिहास, प्रकृति र संस्कृतिका दृष्टिले महत्वपूर्ण छ।
सल्ला र उत्तिसका रुख, चराचुरुङ्गीको चिरबिर र चिसो पहाडी हावाबीच यहाँ राणाकालमा बनेको इँटाको पावरहाउस छ।
यही हो नेपालको पहिलो जलविद्युत् केन्द्र चन्द्रज्योति विद्युत् गृह, जुन अहिले फर्पिङ जलविद्युत् केन्द्रका रूपमा परिचित छ।
पावरहाउसमा पुराना पेल्टन टर्बाइन, जेनेरेटर र अन्य यन्त्रहरू संरक्षण गरेर राखिएका छन्।
दक्षिणकाली नगरपालिकाले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाइरहेको छ।
नगरप्रमुख मोहन बस्नेतका अनुसार फर्पिङ घुम्न जानेका लागि ऐतिहासिक जलविद्युत् केन्द्रसँगै शेषनारायण मन्दिर र त्यहाँका कुण्ड, गुरु पद्मसम्भवसँग सम्बन्धित असुर गुफा र बौद्ध गुम्बाहरू पनि आकर्षक गन्तव्य बन्न सक्छन्।
यस यात्रामा दक्षिणकाली मन्दिरलाई पनि समेट्न सकिन्छ।
काठमाडौँबाट बिहानै निस्कने हो भने यी स्थल एकै दिनमा आरामसँग घुम्न सकिन्छ।
रात बिताउन चाहनेका लागि नजिकै हात्तीबन हिमालयन हाइट रिसोर्ट र चम्पादेवी हिलसाइड रिसोर्टजस्ता आवासका विकल्प पनि छन्।
फर्पिङ हाइड्रोको शताब्दी पुरानो इतिहास
राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा योजना अघि बढाइएको चन्द्रज्योति विद्युत् गृहको उद्घाटन १९६८ जेठ ९ गते भएको हो।
पाँच सय किलोवाट क्षमताको यो आयोजना नेपालको पहिलो जलविद्युत् केन्द्र हो।
केन्द्रले चीनको पहिलो जलविद्युत् केन्द्र शिलोंग्बाभन्दा करिब एक वर्षअघि बिजुली उत्पादन सुरु गरेको थियो।
शिलोंग्बा सन् १९१२ मा ४८० किलोवाट क्षमतामा सञ्चालनमा आएको थियो।
भारतमा भने त्यसअघि नै सन् १८९७ मा १३० किलोवाटको सिद्रापोङ र सन् १९०२ मा ४ हजार ५०० किलोवाटको शिवसमुद्रम आयोजना सञ्चालनमा आइसकेका थिए।
आयोजनाको योजना बनाउने काम नेपाली इन्जिनियर कर्णेल किशोर नरसिंह राणाको नेतृत्वमा भएको थियो।
कुमार नरसिंह राणा पनि निर्माण कार्यमा संलग्न थिए।
बेलायती इन्जिनियरहरूले विस्तृत लागत अनुमान र उपकरण जडानको काम गरेका थिए भने जनरल पद्मशमशेरले निर्माणको समग्र निरीक्षण गरेका थिए।
नेपाली कामदार र केही भारतीय प्राविधिकको संलग्नतामा मुख्य निर्माण करिब २० महिनामा पूरा भएको थियो।
आयोजनामा सात लाख १३ हजार २७३ रुपैयाँ खर्च भएको अभिलेख छ। त्यसमध्ये तीन लाख ६७ हजार ९८४ रुपैयाँ नेपालभित्रै खर्च भएको थियो।
टर्बाइन र जेनेरेटर बेलायत सरकारबाट अनुदानमा प्राप्त भएकाले तिनको मूल्य उक्त लागतमा समावेश थिएन।
आवश्यक उपकरण बेलायतबाट कलकत्ता, भीमफेदी हुँदै फर्पिङसम्म ल्याइएको थियो।
फर्पिङदेखि टुँडिखेलसम्म पुगेको उज्यालो
बिजुली उत्पादन गर्न फर्पिङमा कुनै विशाल नदी थुनिएको थिएन। सातमूले र शेषनारायण क्षेत्रका मुहानबाट ल्याइएको पानी जम्मा गर्न २०० फिट व्यास र १८ फिट गहिराइको गोलाकार जलाशय बनाइएको थियो।
त्यसको पानी सञ्चय क्षमता पाँच लाख २८ हजार ७८३ घनफिट थियो।
जलाशयबाट दुई हजार ५३८ फिट लामो र २० इन्चको पाइप हुँदै पानी पावरहाउससम्म पुर्याइएको थियो।
पानीको बलले २५०–२५० किलोवाटका दुई पेल्टन टर्बाइन घुमाउँथ्यो। जेनेरेटरबाट उत्पादित तीन फेजको ३.३ किलोभोल्ट विद्युत् ट्रान्सफर्मरमार्फत ११ किलोभोल्टमा बढाएर प्रसारण गरिन्थ्यो।
काठ र स्टिलका पोलमा टाँगिएको करिब छ माइल लामो लाइनले फर्पिङको बिजुली टुँडिखेलसम्म पुर्याएको थियो।
विसं १९६८ जेठ ९ गते साँझ टुँडिखेलमा उद्घाटन समारोह आयोजना गरिएको थियो। तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहले साँझ करिब ६:३० बजे बत्ती बालेर चन्द्रज्योति विद्युत् गृहको उद्घाटन गरेका थिए।
त्यसपछि टुँडिखेल क्षेत्रमा एक सातासम्म बत्ती बालिएको थियो। उद्घाटनको भोलिपल्ट जङ्गी तथा निजामती कर्मचारीलाई एक दिन बिदा दिइएको इतिहास छ।
सुरुका वर्षमा भने यस केन्द्रको बिजुली मुख्यतः राजपरिवार, राणा परिवार र पहुँच भएका स्थानमा सीमित थियो।
फर्पिङ जलविद्युत् केन्द्रले २०३८ सालसम्म नियमित विद्युत् उत्पादन गरेको थियो। त्यसपछि यसको पानी खानेपानी आपूर्तिमा प्रयोग हुन थालेपछि नियमित उत्पादन रोकियो।
पुराना यन्त्रहरू मर्मत गरेर प्रदर्शनका लागि कहिलेकाहीँ चलाइने अवस्थामा राखिएका छन्। नेपाल विद्युत् प्राधिकरणले यस क्षेत्रलाई ऐतिहासिक विद्युत् सङ्ग्रहालयका रूपमा विकास गर्ने काम अघि बढाएको छ।
दक्षिणकाली नगरपालिकाका प्रमुख बस्नेतले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा थप विकास गर्ने काम भइरहेको बताए।
उनका अनुसार अहिले नगरपालिकाले क्षेत्रको नक्साङ्कन गरिरहेको छ र चाँडै सार्वजनिक गर्ने तयारी छ।
‘फर्पिङ काठमाडौँको नजिकै भएको ऐतिहासिक पर्यटकीय क्षेत्र हो। यहाँ धार्मिक हिसाबले र इतिहास अध्ययन गर्न चाहनेहरूका लागि उपयुक्त गन्तव्य छ। त्यसबाहेक एक दिनको पदयात्रा र पिकनिकका लागि पनि उत्तम स्थलका रूपमा विकास भइरहेको छ,’ उनले भने।
जलविद्युत्का लगानीकर्ता विजय सागर प्रधानले फर्पिङलाई ऐतिहासिक, सांस्कृतिक र शैक्षिक भ्रमणको गन्तव्यका रूपमा चिनाउने प्रशस्त आधार रहेको बताए।
उनका अनुसार जलविद्युत् केन्द्रको संरक्षण र प्रवर्द्धन गर्दै यस क्षेत्रलाई शैक्षिक गन्तव्यका रूपमा पनि विकास गर्न सकिन्छ।
जलाशय, पावरहाउस, मन्दिर र गुम्बालाई जोडेर भ्रमणको राम्रो अनुभव तयार गर्न सके यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले नेपालको विद्युत् इतिहास नजिकबाट बुझ्ने अवसर पाउने उनको भनाइ छ।