नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार काठमाडौं-भैरहवा-काठमाडौं उडान गर्ने भएको छ।
निगमको न्यारोबडीले सोमबार दिउँसो १ बजे काारठमाडौं विमानस्थलबाट भैरहवाका लागि उडान गर्ने तालिका छ। साथै भैरहवाबाट दिउँसो २:४५ मा काठमाडौंका लागि उडान हुने जनाएको छ।
बाढी पहिरोले विभिन्न राजमार्ग अवरूद्ध भएसँगै निगमले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका यात्रुका लागि यो उडान गर्न लागेको जनाएको छ।
निगम प्रवक्ता सुवास डाँगीका अनुसार सोमबार हुने न्यारोबडीको उडानमा विशेषगरी बिरामी, अशक्त र वृद्धवृद्धालाई प्राथमिकता दिइनेछ।
निगमले काठमाडौंबाट भैरहवा जाँदा ५ हजार रूपैयाँ र भैरहवाबाट काठमाडौं आउन ७ हजार रूपैयाँ भाडा लाग्ने जनाएको छ।
खराब मौसमका कारण शनिबार दिनभर उडान रद्द भएको थियो। आइतबार बिहानैदेखि उडान सुरू भए पनि अझै विभिन्न विमानस्थलहरूमा यात्रुको चाप छ।