नेपाल वायुसेवा निगमले आइतबार राति गर्ने भनिएको भैरहवा- काठमाडौं चार्टर्ड फ्लाइट अन्तिम समयमा आएर रोकिएको छ।
लगातारको भारी वर्षाका कारण यातायात बन्द भएपछि अलपत्र परेका यात्रुहरूलाई चार्टर्ड फ्लाइट मार्फत आइतबार राति भैरहवाबाट काठमाडौं पठाउने भनिएकोमा जहाज व्यवस्थापन गर्न नसकेपछि सोमबारको लागि सारिएको हो।
यसअघि जिल्ला प्रशासन कार्यालय रूपन्देहीको आग्रहमा निगमको १५८ सिट क्षमताको जहाज मार्फत यात्रुहरूलाई आइतबर राति ८ बजे भैरहवाबाट काठमाडौं पठाउने तयारी गरिएको थियो।
सोही अनुरूप नेपाल वायुसेवा निगमले नागरिक उड्डयन प्राधिकरणसँग आइतबार साँझ ७:१५ देखि ९:४५ बजेसम्म काठमाडौं-भैरहवा र भैरहवा-काठमाडौं सम्मको उडानको लागि विमान नम्बर A302 को अनुमति लिएर यात्रुहरूको नाम संकलन समेत गरेको थियो।
तर, भारतको दिल्ली गएको जहाज फर्किनसकेको भन्दै आइतबार राति गर्ने भएको चार्टर्ड उडान सोमबार दिउँसोको लागि सारिएको विमानस्थल स्रोतले जानकारी दियो।
नेपाल वायुसेवा निगमले पनि सूचना जारी गर्दै सोमबार दिउँसो १ बजे काठमाडौंबाट भैरहवा र २:४५ बजे भैरहवा देखि काठमाडौंको लागि चार्टर्ड उडान गर्ने जनाएको छ।
निगमले सोमबारको लागि भाडा समेत तोकेको छ। उक्त सूचना अनुसार काठमाडौं -भैरहवा ५ हजार र भैरहवा-काठमाडौं ७ हजार भाडा तय गरेको छ।
नवलपरासीदेखि पश्चिमतर्फ पानी नपरे पनि नारायणीदेखि पूर्वतर्फ शुक्रबार रातिदेखि लगातार परेको भारी वर्षाका कारण राष्ट्रिय राजमार्गहरू अवरूद्ध भएपछि अत्यावश्यक कामका लागि काठमाडौं जाने यात्रुहरू ठाउँ ठाउँमा अलपत्र परेका छन्।
रूपन्देहीमा अलपत्र परेका यात्रुहरूलाई आइतबार चार्टर्ड फ्लाइट मार्फत् काठमाडौं पठाउने तयारी गरिएको थियो।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले निगमले आइतबार हुने भनिएको चार्टर्ड फ्लाइट सोमबारका लागि सारिएको जानकारी गराएको बताए।
सोमबार उपचारको लागि जानुपर्ने बिरामी, अध्ययन तथा रोजगारीको लागी विदेश जान टिकट लिइसकेका यात्रु, पर्यटक लगायतलाई प्राथमिकता दिएर पठाइने उनले बताए।
जल तथा मौसम विभागले पूर्व जानकारी गराए अनुरूप बागमती, गण्डकी, मधेस र कोशी प्रदेशका अधिकांश जिल्लामा शुक्रबार रातिदेखि अति भारी वर्षा भइरहेको छ। वर्षाका कारण काठमाडौं प्रवेश गर्ने मुख्य राजमार्गहरू पृथ्वी राजमार्ग, बिपी राजमार्ग लगायत राजमार्ग अवरूद्ध भएका छन्।