धवलागिरि सर्किट पदयात्रा गएका ३ जना बेलायती पर्यटक र १२ जना नेपालीलाई संयुक्त सुरक्षाकर्मीले उद्धार गरेको छ।
मुस्ताङबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले शुक्रबार उनीहरुलाई पदमार्गको बतासे डाँडाबाट उद्धार गरेर जोमसोमतर्फ ल्याइरहेको मुस्ताङका सिडिओ विष्णुप्रसाद भुषालले जानकारी दिए।
उनीहरुको उद्धार गर्न मुस्ताङ प्रशासनले बुधबार १४ जना सुरक्षाकर्मीको टोली खटाएको थियो।
पदयात्रामा बेलायी पदयात्रीहरु मेरी रीप, क्याथरिन विल्सन र एमिली कोट्स छन् भने उनीहरुका गाइड, पोर्टर र कुक गरी १२ जना नेपाली सहयोगी छन्। मंगलबारदेखि परेको हिमपातका कारण उनीहरुको पदयात्रा कष्टकर बनेको थियो।
मुस्ताङका सिडिओ भुषालले उनीहरुको उद्धार गर्न हेलिकप्टर पठाउन खोजिए पनि सम्भव नभएपछि पदमार्गबाटै उद्धार गरिएको हो।
धवलागिरि सर्किट पदमार्गमा गएका टोलीले स्याटलाइट फोन लिएका कारण उनीहरुसँग सम्पर्क गर्न सजिलो भएको मुस्ताङ प्रशासनले जनाएको छ। हिमपातका कारण बाटो पहिल्याउन र हिड्न समस्या भइराखेको उनीहरुले जानकारी दिएका थिए।
काठमाडौंको सेक्रेट हिमालय ट्रेक्स एण्ड एक्सपेडिसन कम्पनीमार्फत उनीहरु क्याम्पिङ ट्रेक गएका थिए। नेपालको दुर्गम र जटिल पदमार्गमा पर्ने यो पदमार्गभरि होटल तथा चिया पसलहरु छैनन्। पदयात्रीले बस्ने, खाने, सुत्ने सबै व्यवस्था आफै लिएर जानुपर्छ। त्यही भएर ३ जना पर्यटकका लागि १२ जना सहयोगी पठाएको कम्पनीका प्रवन्धक विनय लामाले बताए।
‘तीन जना पदयात्रीका लागी गाइड, पोर्टर, कुक लगायत गरेर १२ जना सहयोगी छन्, खानाको समस्या उनीहरुलाई परेको छैन,’ उनले सेतोपाटीलाई भने, ‘निरन्तरको हिमपातले गर्दा बाटो नदेखिने चिसोको समस्या परेको छ।’
काठमाडौंबाट असोज ३० गते पदयात्राका लागि हिडेका उनीहरु १५ दिनमा पदयात्रा पूरा गर्ने तयारीमा थिए। मंगलबार हिडन भ्याली आइपुग्ने उनीहरुको योजना थियो। योजना मुताबिक उनीहरु हिँड्न भ्याली आइपुगे पनि त्यसपछि निरन्तर परेको व्यापक हिमपातले पदयात्रामा जटिलता थपिएको थियो।
धवलागिरि सर्किट पूरा गर्न यसअघि कम्तिमा पनि २१ दिन लाग्ने टान बताउँछ। पदमार्गमा पर्ने कतिपय गाउँहरुमा मोटरबाटो पुगेकाले पदयात्राको समय छोटिएको छ। समय छोटिए पनि उक्त पदमार्ग निकै कठिन भएको र पदमार्गमा होटल तथा चिया पसल नभएकाले पदयात्रीलाई हिमपात हुँदा समस्या आउने ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्य बताउँछन्।
‘धवलागिरि सर्किट नेपालकै कठिन पदमार्गमा पर्छ। सो पदमार्गमा यात्रा गर्नु यतिबेला ठिक समय भए पनि मौसम बदलिएकाले उहाँहरुले हिमपातको सामना गर्नुपर्यो,’ उनले भने।
विश्वको सातौ अग्लो चुचुरो धवलागिरि (८१६७ मिटर) वरीपरी यात्रा गर्नुपर्ने यस पदयात्राको सुरुवात म्याग्दीको दरबाङबाट हुन्छ। मोटरबाटो पुगेका कारण कतिपय पदयात्री दरबाङबाट पनि अर्झ अगाडी धारापानीसम्म मोटरमा पुग्छन्।
धारापानीबाट पदयात्रा गदै अघि बढ्दा पदयात्रीका लागि इटालियन बेस क्याम्प (३६६० मिटर) ग्ल्यासियर क्याम्प (४२०० मिटर) धवलागिरि बेस क्याम्प (४७५० मिटर, फ्रेन्च पास (५३६० मिटर) हिडन भ्याली (५१४० मिटर) धम्पुस पास (५२४४ मिटर) पार गर्न निकै चुनौती हुने पदयात्रीहरु बताउँछन्।
‘यस पदमार्गमा रहेका हिमनदीहरु, हिमाली भञ्ज्याङहरु पार गर्न निकै चुनौतीपूर्ण छ,’ टान गण्डकीका अध्यक्ष आचार्य भन्छन्, ‘निकै उचाइमा हिड्नुपर्ने र अत्याधिक हावा चल्ने भएकाले पनि पदयात्रीहरुले निकै साहस जुटाउनुपर्ने हुन्छ।’
पदमार्गबाट देखिने प्राकृतिक दृश्यावलोकन र मानवीय गतिविधीबाट बिग्रन नपाएकाले उक्त पदमार्गमा क्याम्पिङ ट्रेक जानेका लागि आकर्षक गन्तव्य बनेको उनले बताए।