बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलमा सुविधायुक्त नयाँ टर्मिनल भवन तोकिएको समय अगावै निर्माण कार्य पूरा भएको छ। 
भ्याट बाहेक कुल दुई अर्ब ७४ करोड २० लाख १८ हजार नौ सय ९३ रुपैयाँ लागतमा टर्मिनल भवन निर्माण गर्ने  जिम्मा काठमाडौंको ‘शर्मा एन्ड कम्पनी’ले पाएको थियो। 
२०७९ पुसबाट काम सुरू गरेको निर्माण कम्पनीले तीन वर्ष अर्थात् २०८२ पुसमा काम सक्ने गरी काम सकारेको थियो। तर, यो कम्पनीले दुई महिना अगाडि नै निर्माण कार्य पूरा गरेको हो।
नयाँ टर्मिनल भवन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुधबार हस्तान्तरण गर्ने तयारी गरिएको निर्माण कम्पनीका कन्ट्र्याक्टर विनोद सुवेदीले सेतोपाटीलाई बताए।
नवनिर्मित टर्मिनल बिल्डिङ सेमी बेसमेन्टसहित तीन तलाको छ। जसको बेसमेन्ट कमर्सियल प्रयोजनका लागि निर्माण गरिएको छ। जहाँ कुल २४ वटा पसल रहनेछन्। 
सुवेदीका अनुसार टर्मिनल बिल्डिङले पाँच हजार ७५ स्क्वायर मिटरको क्षेत्रफल ओगटेको छ। त्यसभित्र यात्रु चेकिङ काउन्टर १४ वटा, भिआइपी रूम तीन वटा, चिल्ड्रेन प्लेइङ एरिया एउटा, भन्सार र क्वारेन्टाइन चेकजाँचका लागि अलग/अलग कोठाहरू निर्माण गरिएका छन्। 
 
बाँके नेपालगञ्जको राँझास्थित विमानस्थलमा निर्मित नयाँ टर्मिनल भवन आवश्यक पर्दा अन्तर्राष्ट्रिय उडानका लागि पनि प्रयोग गर्न सकिने गरी निर्माण गरिएको छ।
सुवेदीका अनुसार भविष्यमा अन्तर्राष्ट्रिय हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै घरेलु र अन्तर्राष्ट्रिय उडानका लागि अलग/अलग यात्रु प्रस्थान र आवागमन ढोकाहरू तयार गरिएको छ। 
पिकआवरमा नयाँ निर्मित टर्मिनल भवनको यात्रु क्षमता प्रतिघन्टा ६ सय २८ रहेको छ।
नयाँ टर्मिनल भवनभित्र बगैंचाका साथै ५ देखि १४ मिटर फराकिलो बाटो निर्माण गरिएको छ। टर्मिनल भवनको पेरिफेरिमा ढल निकास तथा बढी भएको पानी निकासको लागि उचित नालाको विकास गरिएको सुवेदीले बताए। 
हाल निर्मित नयाँ टर्मिनल भवन क्षेत्रमा एप्रोन अर्थात जहाज पार्किङ गर्ने ठाउँ पनि निर्माण गरिएको छ। जसमा एटिआर–७२ जहाज ३ वटा र ट्विअटर जहाज ५ वटा एकै पटकमा पार्किङ गर्न मिल्ने सुविधा छ। 
त्यस्तै, नयाँ टर्मिनल भवनको परिसरमा सवारी साधन पार्किङको छुट्टै ठाउँ पनि निर्माण गरिएको छ।
सुवेदीका अनुसार मोटरसाइकल एक सय ५५, इभी गाडी चार्जिङ स्टेसन सहित १० गाडी, फोर ह्विल सानो गाडी एक सय दुई, बसहरू पाँच वटा, अटो रिक्सा ३० वटा पार्किङ गर्ने पार्किङस्थल निर्माण गरिएको छ। 
राँझा विमानस्थलमा ६५ वर्षअघि सन् १९६१ मार्च १५ मा पहिलो उडान भएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार राँझा विमानस्थलमा सन् २०१५ मा यात्रु संख्या एक लाख ७६ हजार रहेको थियो। त्यस्तै  सन् २०१९ मा चार लाख ४३ हजार पुग्दा उडान संख्या पनि नौ हजारबाट बढेर १५ हजार पुगेको थियो।
त्यस्तै, सन् २०२२ मा दैनिक औसत १५५२ यात्रु आवतजावत गरेका थिए। जस अनुसार सन् २०४० सम्ममा राँझा विमानस्थलबाट यात्रा गर्ने यात्रुको संख्या वार्षिक २० लाख पुग्ने प्राधिकरणको प्रक्षेपण छ। त्यसैलाई आधार मान्दै सन् २०४० सम्मको आवश्यकता पूरा गर्ने गरी नयाँ टर्मिनल भवनको डिजाइन र निर्माण गरिएको हो।  
तीन वर्ष पहिले यो विमानस्थलको धावन मार्ग विस्तार गरी  १७ सय मिटर पुर्याइएको थियो।