नेपाल पर्यटन बोर्डले हिमाल आरोही र पर्वतीय पर्यटकको सुरक्षालाई प्राथमिकतामा राख्दै हिमालय उद्धार संघ नेपाल (हिमालय रेस्क्यू एशोसिएसन) लाई आपतकालीन उद्धार सामग्री हस्तान्तरण गरेको छ।
सगरमाथा र अन्नपूर्ण क्षेत्रका आरोही र पदयात्रीको सुरक्षामा थप सघाउ पुर्याउने उद्देश्यले बिहीबार भृकुटीमण्डपस्थित बोर्डको कार्यालयमा उद्धार सामग्री हस्तान्तरण गरिएको हो।
सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका पर्वतीय पर्यटकको सुरक्षाका लागि बोर्ड निरन्तर काम गरिरहेको बताए।
‘नेपालको हिमालय विश्वकै आकर्षण हो। यहाँ आउने आरोही र पर्यटकको सुरक्षा सुनिश्चित गर्न नेपाल पर्यटन बोर्ड निरन्तर प्रतिबद्ध छ,’ उनले भने, ‘उद्धार संघसँगको सहकार्यलाई हामी हिमाली पर्यटनको दिगोपनासँग पनि जोडेर हेर्छौं।’
त्यसैगरी सामग्री ग्रहणपछि हिमालय उद्धार संघका अध्यक्ष डम्बर पराजुलीले पर्यटन बोर्डको सहयोगप्रति आभार व्यक्त गरे।
‘सगरमाथा, अन्नपूर्णजस्ता चुनौतीपूर्ण क्षेत्रमा काम गर्दा उद्धार सामग्री अत्यन्त आवश्यक हुन्छ,’ उनले भने, ‘बोर्डको यो सहयोगले हाम्रो उद्धार कार्य अझ प्रभावकारी र शीघ्र हुने विश्वास लिएको छु।’
बोर्डले संघलाई क्याराबिनर्स २० थान, मेकानिकल एसेन्डर्स ४ थान, डिसेन्डर्स ५ थान, पुली ४ थान, स्लिङ्स ५ थान, आइस स्क्रु र पिकेट्स ५ थान, बिले डिभाइस ४ थान, एङ्कर्स ४ थान, र स्लीपिङ ब्याग ५ थान हस्तान्तरण गरेको थियो।
बोर्डले आगामी दिनमा हिमाली क्षेत्रमा उद्धार र सुरक्षा पूर्वाधारलाई अझ सुदृढ बनाउन निजी क्षेत्र र स्थानीय समुदायसँग सहकार्यका कार्यक्रम पनि विस्तार गरिने विश्वास व्यक्त गरेको छ।