नेशनल जियोग्राफिक म्यागजिनले नेपाली सेफ सन्तोष साहद्वारा तयार गरिने ‘मिथिला थाली’लाई दक्षिण एसियाकै उत्कृष्ट परिकारको रूपमा समेटेको छ।
नेपाली परिकारलाई विश्वमाझ चिनाउँदै आएका साहको मिथिला थाली दैनिक पाँच सयभन्दा बढी ग्राहकले स्वाद लिइरहेको रिपोर्टमा उल्लेख छ।
म्यागजिनले मिथिला थालीमा प्रयोग भएका स्थानीय सामग्री, घरेलु स्वाद र परम्परागत पकाउने शैलीलाई आधुनिक तरिकाले प्रस्तुत गरिएको भन्दै प्रशंसा गरेको छ।
यसले नेपाली खानाको अन्तर्राष्ट्रिय लोकप्रियता बढ्दै गएको पुष्टि गर्छ।
सेफ सन्तोषले आफ्नो जन्मथलो, परम्परा र परिकारलाई विश्वस्तरको म्यागजिनमा स्थान मिल्दा गर्व महसुस भएको बताए।
‘नेपालको स्थानीय खाना विश्वले चिनेको देख्दा अझै धेरै मेहनत गर्न प्रेरणा मिलेको छ,’ उनले भने।
म्यागजिनले जनकपुरलाई सांस्कृतिक, धार्मिक र पाक–परम्पराले समृद्ध सहरको रूपमा प्रस्तुत गरेको छ। जानकी मन्दिरको भव्यता, मिथिला संस्कृतिको जीवन्तता र स्थानीय भोजनलाई विशेष रूपमा प्रशंसा गरिएको हो।
यसअघि पनि लोन्ली प्लानेटले जनकपुरधामलाई सांस्कृतिक र खाद्य पर्यटनका लागि उदीयमान गन्तव्यका रूपमा सूचीबद्ध गरेको थियो।
सेफ सन्तोषले जनकपुरका परिकारहरूलाई देशभर पुर्याउँदै ‘मिथिला थाली बाइ सन्तोष शाह’ नाममा झम्सिखेल, नक्साल र गौशालामा शाखा सञ्चालन गरेका छन्।
जनकपुर फिस हाउसमार्फत मिथिलाको माछा परिकार पनि व्यावसायिक रूपमा विस्तार गरिरहेका उनले केही महिनामै वीरगञ्जमा नयाँ शाखा सुरू गर्ने तयारी गरिरहेका छन्।