तान्जानियाको माउन्ट किलिमन्जारोमा उद्धारका लागि गएको एउटा हेलिकप्टर दुर्घटना भएको छ।
तान्जानियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार बिहीबार माउन्ट किलिमन्जारोमा मेडिकल टिम लिएर उद्धारका लागि पुगेको हेलिकप्टर बराफु क्याम्प नजिक खसेको हो।
दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
दुर्घटनामा एक जना गाइड, एक चिकित्सक, पाइलट र दुई विदेशी पर्यटकको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
ती विदेशी पर्यटक कुन देशका थिए भन्ने चाहिँ खुलाइएको छैन।
स्थानीय पत्रिका म्वानाञ्चीका अनुसार हेलिकप्टर करिब ४ हजार ६७० देखि ४ हजार ७०० मिटर उचाइको बीचमा दुर्घटनाग्रस्त भएको थियो।
अफ्रिकाकै सर्वोच्च शिखर मानिने माउन्ट किलिमाञ्जारोको उचाइ करिब ६ हजार मिटर रहेको छ।
प्रत्येक वर्ष करिब ५० हजार पर्यटक किलिमाञ्जारो आरोहणका लागि जाने गर्दछन्।