हिमालय पथप्रदर्शकहरूले पर्यटन प्रवर्द्धनका लागि दक्ष जनशक्ति उत्पादनमा सरकारले लगानी गर्नुपर्ने माग गरेका छन्।
राष्ट्रिय पर्वतीय पथप्रदर्शक दिवसको पूर्वसन्ध्यामा राजधानीमा आयोजित कार्यक्रममा उनीहरूले अन्तर्राष्ट्रियस्तरका तालिममार्फत् गुणस्तरीय गाइड उत्पादनमा राज्यको सक्रिय भूमिका आवश्यक रहेको बताएका हुन्।
कार्यक्रममा सहभागी पथप्रदर्शकहरूले हिमाल आरोहण गर्ने पर्यटकको संख्या बढ्दै जाँदा सुरक्षा, प्राविधिक सीप र विश्वासनीयता भएका दक्ष नेपाली गाइडहरूको माग पनि तीव्र रूपमा बढिरहेको बताए।
नेपाली गाइडको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग रहेपनि आवश्यक जनशक्ति अभावका कारण अवसर गुमिरहेको उनीहरूको भनाइ छ।
२०६१ सालमा स्थापना भएको संघले सन् २०६९ मा अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक महासंघ (आइएफएमजीए) को आधिकारिक मान्यता प्राप्त गर्दै नेपाल प्रतिनिधिको रूपमा काम गरिरहेको छ।
संघमार्फत हालसम्म एक सयभन्दा बढी अन्तर्राष्ट्रियस्तरका आइएफएमजीए माउन्टेन गाइड उत्पादन भइसकेका छन्।
पर्वतारोहण पर्यटन नेपालको प्रमुख आम्दानीको स्रोत भए पनि आवश्यक दक्ष जनशक्ति नहुँदा चुनौती बढिरहेको संघका अध्यक्ष तुलसी गुरुङले बताए।
संघका अनुसार नेपाली पथप्रदर्शकहरू युरोप, उत्तर अमेरिका र स्क्यान्डिनेभियन मुलुकहरूमा मौसमी रूपमा काम गर्ने गरेका छन्। तर सन् २०२५ को सगरमाथा आरोहण मौसममा आइएफएमजीए गाइडको माग पूरा गर्न नसकिएको संघले जनाएको छ।
संघका महासचिव पेम्बा तेन्जिङ लामाकाअनुसार अन्तर्राष्ट्रियस्तरको पथप्रदर्शक बन्न करिब सात वर्ष समय र करिब १७ लाख रूपैयाँ खर्च लाग्छ।
लामो समय र खर्चिलो भएकाले यो क्षेत्रमा युवाहरू आकर्षित हुन नसकेको लामाले बताए।
उनले युवा लक्षित अनुदान तथा तालिम सहयोग कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गरे।