विगत दुई वर्षदेखि इसराइलमा थन्किएको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजको इन्जिन ल्याइने भएको छ।
निगमका अनुसार उक्त जहाजको इन्जिन लिन निगमको 'ए३२०–२००' सिरिजको न्यारोबडी जहाज आज(सोमबार) इसराइल जाँदैछ।
निगम र इसराइलस्थित आइएमआईबीच मेन्टिनेन्स विथ लिज सपोर्ट सम्झौताका आधारमा वार्तामार्फत् समझदारी भएपछि इन्जिन सट्टापट्टाको बाटो खुलेको निगम प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।
इसराइलमा इन्जिन जडान तथा आवश्यक प्राविधिक जाँच–प्रक्रिया पूरा भएपछि जनवरीको दोस्रो साताभित्र जहाज काठमाडौं फर्काइने निगमले जनाएको छ।
जहाज सञ्चालनमा फर्किएसँगै निगमको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय उडान व्यवस्थापन थप सुदृढ हुने अपेक्षा गरिएको छ।
निगमको उच्च व्यवस्थापनको निरन्तर पहलपछि लामो समयदेखि विवादमा रहेको विषय टुङ्गिएको र इन्जिन सट्टापट्टा गर्ने प्रक्रिया अघि बढेको हो।